झापा , जेठ १९ । नक्कली नोट र लागूऔषधको कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ बस्ने ३२ वर्षीय पूर्णबहादुर बानियाँ रहेका छन् ।दमक १ स्थित राधे होटल एन्ड लजको कोठाभित्र लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले गएराति ११ बजे छापा मारेको थियो । प्रहरीले होटलमा छापा मारेर बानियाँलाई नियन्त्रणमा लिएको हो ।
त्यसपछि प्रहरीले उनको शरीर र कोठा पुरै खानतलासी गरेको थियो । उनले लगाएको बक्स हाफपेन्टको पछाडीपट्टी गोजीभित्र एउटै नोट नम्बरहरु भएको एक हजार दरको नेपाली रुपैयाँको नक्कली नोट ८ थान र सानो प्लास्टिकको दुईवटा प्याकेटमा राखिएको ४७ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।
नक्कली नोट र ब्राउनसुगरसहित पक्राउ परेका उनलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्