दमक ,जेठ २९ ।दमक नगर इसाई समाजले दमक नगरका एक सय विपन्न घर परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

निषेधाज्ञाका कारण दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गरिरहेका विपन्न परिवारलाई राहत पुर्याउन इसाई समाजले दमकका १ सय परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।
दमक–७ पशुहाटस्थित वडा कार्यालयनजिकै एक कार्यक्रम गरी वडा अध्यक्ष भीम पौडेलसहित समाजका प्रतिनिधिहरुले संयुक्त रुपमा खाद्यान्न सामग्री वितरण गरेका थिए । नगरको १० वटा वडाहरुबाट विपन्न परिवार छनोट गरी उनीहरुलाई प्रतिपरिवार२५ केजी चामल , चिउरा २ केजी, खानेतेल २ लिटर, दाल २ लिटर , १ केजी सोयाविन, साबुन ३ पिस र नुन २ पोका वितरण गरिएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले बताए ।
राहत व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका समाजका सल्लाहकार पाष्टर राजकुमार राई, पाष्टर मुक्ति किराती राई, पाष्टर डिके बेधा लिम्बू, एल्डर विकास रणपहेली, इसाई समाज युवा संघका दमक अध्यक्ष सुरज लिम्बू, राहत व्यवस्थापन उपसमितिका सदस्य शहरमान राई, दिलिप राईलगायतको उपस्थिति थियो ।
समाजका अध्यक्ष पाष्टर थुलुङका अनुसार गत वर्ष पनि लकडाउनका बेला दमक नगरपालिकाको संयोजन मार्फत दमकमा ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका झण्डै पाँच सय परिवारलाई खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । त्यस्तैं, नगरको विपत व्यबस्थापन कोषमा समेत आर्थिक सहयोग उपलब्ध गराएको अध्यक्ष पाष्टर थुलुङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्