रामप्रसाद ढुंगेल
युएई , असार २ । नेपालमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न आर्थिक सहयोग गर्ने उद्धेश्यले युएईमा श्रमरत नेपाली आदिवासीहरु जुटेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ युएई शाखा (नेफिन) मा आवद्ध १२ वटा संस्थाहरुले करिब २ लाख पचास हजार रुपैयाँ संकलन गरेका हुन् । युएईमा संचालित मातृभूमिको लागि संयुक्त राहत सहयोग अभियानअन्तर्गत नेफिन युएईद्वारा सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाली राजदुतावास अबुधाबी युएईको संयोजकत्वमा युएईमा स्थापित सक्रिय संघसंस्थाहरु नेपाली समाज युएई तथा नेपाली समाजमा आबद्ध संघसंस्थाहरु वैचारिक संगठन, नेपाली बिजिनेस काउन्सिल, नेफिन युएई , पत्रकार महासंघ, व्यवसायी, सामाजिक व्यक्तित्वहरुलगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एकजुट भएर कोभिड– १९ को महामारीमा मातृभूमिको सहयोगका लागि संयुक्त राहत अभियान चलाइएको हो । यो अभियानले नेपालमा कोरोनाविरुद्ध भ्याक्सिन खरिद प्रक्रियामा नेपाल सरकारलाई सहयोग जुटाउने कोसिस गरेको बताइएको छ ।

मातृभूमिको लागि संयुक्त राहत सहयोग अभियानमा युएईमा रहेका आदिवासी जनजातिहरुले पनि उल्लेख्य रकम संकलन गरी संयुक्त राहत संकलन समितिले चलाएको अभियानमा सहकार्य गर्दै रकम सहयोग गरेका हुन् । नेफिन युएईको संयोजकत्वमा नेफिन युएईका सदस्य संस्थाहरुबाट रकम संकलन गरी नेफिन युएईका अध्यक्ष महेश मोक्तान, उपाध्यक्ष डिबी समर्पण मगर र महासचिव कुमार बलामीले संयुक्तरूपमा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तानलाई आठ हजार एक सय तीन दिराम अर्थात नेपाली २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

संयुक्त राहत सहयोग अभियानमा नेफिन युएईको संयोजकत्वमा नेफिन युएईका सदस्य संस्थाहरुबाट निम्न बमोजिमको सहयोग रकम संकलन गरिएको थियो । नेफिन युएई अध्यक्ष महेश मोक्तान अध्यक्ष रहेको नेफिन युएईको तर्फबाट १ हजार दिराम , उषा गुरुङ अध्यक्ष रहेको तमु समाज युएईबाट १ हजार ३ सय ६५, शिला राना मगर अध्यक्ष रहेको नेपाल मगर संघ शाखा युएईबाट ५ सय, सनिल घिसिङको नेतृत्वमा रहेको तामाङ समाज युएईले ३ सय , चन्द्रा साम्पाङ राई अध्यक्ष रहेको किरात राई यायोख्खा शाखा युएईले ३ सय , गजबहादुर वनेम अध्यक्ष रहेको किराँत याक्थुङ चुम्लुङ युएईले ३ सय ५० , लक्ष्मण श्रेष्ठको नेतृत्वमा रहेको नेवाःपुचःयुएईले ३ सय १ ,निमा शेर्पा अध्यक्ष रहेको शेर्पा किदुङ युएईले ५ सय ५५ , खोरबहादुर महतो अध्यक्ष रहेको थारु कल्याणकारिणी सभा युएईले दुई हजार दुई सय २१ , रन्जन भुजेल अध्यक्ष रहेको प्रवासी भुजेल सेवा समिति युएईले २ सय १ दिराम , नरबहादुर सुनुवार अध्यक्ष रहेको सुनुवार सेवा समाज युएईले ५ सय ५ र दिपक थापा मगर अध्यक्ष रहेको नेफिन युवा महासंघ युएईले ५ सय ५ दिराम जम्मा गरेको छ । संयुक्त राहत सहयोग संकलन समितिले चलाएको सहयोग अभियान अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सहयोग र सहभागिताको लागि युएईमा रहेका सम्पूर्ण नेपालीको एकता उदाहरणीय बनेको नेफिन युएईका महासचिव तथा नेवाःपुचः युएईका महासचिव कुमार बलामीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्