बिर्तामोड, असार २० । बिर्तामोड नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा आइतबार बसेको दोश्रो बैठकले असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७८–७९को नीति,कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो ।

नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष धु्रवकुमार शिवाकोटीले नगरपालिकाको आर्थिक वर्ष २०७८–७९को नीति,कार्यक्रम र बजेट,बिर्तामोड नगरपालिका आर्थिक विधेयक २०७८,विनियोजन ऐन२०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७८ र बिर्तामोड नगरपालिका विनियोजन विधेयक २०७८ संयुक्तरुपमा निर्णयार्थ सभासमक्ष प्रस्तुत गरेका थिए ।सभामा बोल्ने सम्पूर्ण सदस्यहरुले बजेट राम्रो र जनमुखी भएको धारणा राखेका थिए ।

बिर्तामोड नगरपालिका नम्बर ३ का अध्यक्ष भोजराज सिटौलाले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट नगरबासीहरुको भाग्यसंग जोडिएको भन्दै यसको कार्यान्वयनमा नगरप्रमुख लगायत सिङ्गो टिम लाग्नु पर्ने बताए ।उनले जनप्रतिनिधिहरु राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्दै आएको भन्दै विकास निर्माणका काममा जोड दिए ।यस्तै वडा नम्बर ४का अध्यक्ष कुलप्रसाद संग्रौलाले बिर्तामोडको ४ र ५ नम्बर वडाका क्षेत्रमा हुने डुवानका समस्या हल गर्र्नु पर्ने बताए ।उनले नगर गौरवका आयोजनाहरुलाई ध्यान दिनु पर्ने भन्दै रोकिएका योजनाहरु पुरा गर्नु पर्नेमा जोड दिए ।यस्तै वडा नम्बर १ का सदस्य प्रेमकुमार खरेलले पनि वडा नम्बर १ र २का अधिकांश स्थान बर्षातको समय डुवानमा पर्दै आएको भन्दै यसलाई व्यवस्थापन गर्नु पर्ने बताए ।

यस्तै वडा नम्बर २का सदस्य उपेन्द्र पराजुलीले बिर्तामोडमा भारतीय मजदुरहरु धेरै रहेको भन्दै उनीहरुलाई करको दायरामा ल्याउनु पर्ने धारणा राखे ।यस्तै वडा नम्बर २का सदस्य किशोर पौड्यालले कोभिड –१९का कारण चालु आर्थिक वर्षमा नसकिएका जनता आवासका अधुरा कामहरुलाई निरन्तरता दिन आवश्यक नीति बनाउन आग्रह गरे ।

यस्तै वडा नम्बर ५का सदस्य डि.आर कडरीयाले बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनमा आएको विवाद जतिसक्दो चाँडै टुंग्याउनु पर्ने बताए ।उनले नगरवासीको लागि कोभिड–१९ विरुद्वको खोप अत्यन्त आवश्यक रहेको भन्दै जतिसक्दो चाँडो पहल गर्न पनि आग्रह गरे ।यस्तै वडा नम्बर ८का सदस्य दिपक भट्टराईले प्रदेश सरकारले स्थानीय तहको अधिकार खोसेर बन्चित गरेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

नगरसभाको दोश्रो बैठकमा उठेका सवालहरुको उपप्रमुख पवित्रादेवी महतरा प्रसाईले जवाफ दिएकी थिइन् ।यस्तै उपप्रमुख प्रसाईले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन,कार्यालय व्यवस्थापन,सुशासन पारदर्शिता एवं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्णयको लागि प्रस्ताव पेश गरेकी थिइन् । बैठकमा उपप्रमुख प्रसाईले न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत गरिन् ।यस्तै अर्थ तथा सार्वजनिक लेखा समितिकी संयोजक भागिरथा आचार्यले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सभाका अध्यक्ष शिवाकोटीले नगरसभामा प्रस्तावित विधेयकमाथि छलफल गरी नीति,कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको घोषणा गरेका थिए । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९को लागि १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्