कनकाई, भदौ १३ । कोरोना कहरमा रगतको अभाव नहोस् भन्ने उद्धेश्यले झापाको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लव अफ सुरूङ्गा एवम् रोट्रयाक्ट क्लव अफ सुरूङ्गाको संयुक्त आयोजनामा सम्पन्न रक्तदानमा ३ महिलासहित ४० जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक रोटरी क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले जानकारी दिएका छन् । रोटरी क्लव अफ सुरूङ्गाका अध्यक्ष सुशीलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४७ औं पटक रक्तदान गरेका थिए ।
क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्वअध्यक्ष कुमारमणि पोखरेल, निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओलीसहित अन्य पदाधिकारी साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको रक्तदानमा कार्यक्रम संयोजक क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले सहभागीहरुलाई स्वागत गरेका थिए । प्रेसिडेन्ट नोमिनी मोतिखर ओझाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा क्लवकी सदस्य सुस्मा उप्रेतीले टोस्ट प्रकट गरेकी थिइन् । औपचारिक कार्यक्रमको संचालन रोटरी क्लव अफ सुरुङ्गाकी सचिव सरला दहाल पोखरेल र रोट्रयाक्ट सचिव सारिका गिरीले संयुक्त रुपमा गरेका थिए ।