बिर्तामोड, असोज ८ । बिर्तामोडको नगर सभापतिमा उठिरहँदा भोजराज सिटौलाले तामझामले चुनावी खर्च गर्न सकिरहेका छैनन् । किनकि उनीसँग त्यसरी लाखौं खर्च गर्नसक्ने हैसियत नै छैन ।
वर्षौदेखि राजनीतिसँगै समाजसेवा गरिरहँदा उनले पैसा कमाउन सकेनन् ,कमाए त केवल जनताको साथ । राजनीतिलाई कमाउने पेशाको रुपमा लिँदै उनीसँगै राजनीति थाल्ने धेरैले मनग्ये कमाए । भोजराजले स्वार्थको राजनीति होइन , निष्ठाको राजनीतिलाई रोजे । आफूहरु यतिबेला आ–आफ्नो गोजीबाट निकालेर चुनावी घरदैलो गरिरहेको नगर उपसभापतिका उम्मेद्वार सूर्यप्रसाद कन्दङ्वाले बताए । ‘हाम्रो प्यानलमा अरुजस्तो उद्योगपति धनाढ्य छैनन्’ उनले भने ,‘ पैसा नहुँदा हालत भएपनि साथीभाइ र कार्यकर्ताको ठूलो साथ छ, त्यसमा गर्व गर्छौ ।’ बिर्तामोड वडा नं ६ का वडाध्यक्षसमेत रहेका उपसभापतिका उम्मेद्वार कन्दङ्वाले वडा नं ३ का वडाध्यक्षसमेत रहेका सिटौलालाई नजिकबाट चिनेका छन् । यतिका वर्षसम्म भोजराजले दाम कमाउन सकेनन् । कन्दङ्वाका अनुसार दाम कमाएको भए यतिबेला चुनावमा होमिरहँदा भोजराजले लाखौं खर्च गर्न सक्थे होला । भोजराजले २०३६ सालदेखि राजनीति थालेका हुन् । तीनपटक वडाध्यक्ष जितेका उनी खासगरी तल्लो तहका मानिसबीच बढी लोकप्रिय मानिन्छन् ।
भोजराज कर्मठ , त्यागी , व्यक्तिगतभन्दा पार्टी र समाजसेवाप्रति समर्पित इमान्दार राजनीतिकर्मी भएको क्षेत्रीय प्रतिनिधि धर्मराज माझी बताउँछन् । ‘ कमाएको भए भोजराजले यो निर्वाचनमा हाहु गरेर पैसाको छेलोखेलो गर्नुहुन्थ्यो होला ’उनले भने , ‘ उहाँ आफ्नै धनसम्पत्ति खर्च गरेर राजनीति गर्ने व्यक्ति पर्नु भयो ।’
पछि पारिएका आदिवासी समुदायका लागि समान र समावेशी दृष्टिकोण भोजराजसँग रहेको माझीको बुझाइ छ । जनताको दुखसुखमा साथ दिने गरेकै कारण भोजराजलाई कतिपयले भोजे अर्थात भोजु दाई भनेर बोलाउने गर्छन् । तर ,यसरी एकलखे लगाएर बोलाउँदा उनी कहिल्यै रिसाउँदैनन् । ‘ जो बढी निकट छ उसैलाई यसरी बोलाउने हो’उनी भन्छन् ,‘ यसलाई मप्रतिको माया अनि सद्भावको रुपमा बुझेको छु ।’ गरीबधनी सानो ठूलो नभनी परेको बेला साथ दिने नेता भोजराज मात्र भएको अर्का क्षेत्रीय प्रतिनिधि मोहन विश्वकर्माको बुझाइ छ ।‘परेको बेला घरघरमा गएर बुझ्दै हिड्ने भोजराज दाईभन्दा राम्रो नेता कस्तो हुन्छ होला ? उनी प्रश्न गर्छन् । युवा र विकासप्रेमी नेताको रुपमा परिचित भोजराज कसैलाई समस्या पर्दा राति १२ बजे पनि पुग्न सक्छन् । गत वर्षको लकडाउनका बेला कोरोना भाइरसको महामारीको डरले मानिसहरु घरभित्र लुकेर बसेका थिए । तर, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज अरु जनप्रतिनिधिजस्तो चुप लागेर घरभित्र बसेनन् , आफ्ना वडाका वडावासीहरुको पिरमर्का बुझ्न घरघरमा पुगिरहे ।
लगातारको लामो लकडाउनका कारण आफ्नो वडाभित्र परेको समस्याप्रति गंभीर देखिए । वडाबासीहरु रोग र भोकको समस्यामा जुधिरहेको उनले टुलुटुलु हेर्न नसकी जोखिम मोलेरै लागिपरे । बिर्तामोड नगरपालिकाभरिमा सबैभन्दा बढी विपन्नहरु वडा नं ३ मा रहेका छन् । वडा नं ३ का २९ वटा टोलमध्ये ६ वटामा सुकुम्बासी छन् । कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समितिको सचिवालयमा रहेका भोजराजले नगरको राहत संकलन र वितरणमा सक्रिय भएर सहभागिता जनाए । त्योसँगै लकडाउनको तीन सातापछि नगरपालिकाले बाँडेको ४ केजी चामल सकिएर भोको पर्न लागेका वडाबासीका लागि उनी चिन्तित देखिए । कोरोना महामारी रोकथाम तथा राहत व्यवस्थापनका लागि गठित वडास्तरीय समितिसँग समन्वय गरेर २९ वटै टोललाई मिलाएर केन्द्र पर्ने पाँच ठाउँमा खाना खुवाउनका लागि दाताहरुलाई आग्रह गरे । भोको पेटलाई सहयोग गर्न दाताहरु तयार भए । जसको सहयोगबाट वडाध्यक्ष भोजराजले १८ दिनसम्म ३० हजारभन्दा बढी भोको पेटलाई खाना खुवाएर सन्तुष्टि दिलाए ।
वडाध्यक्षसँगै कांग्रेसको नगर सभापतिको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व उनीमा थियो । उनको नेतृत्वमा कार्यकर्ताहरुको सहयोगमा बिर्तामोड नगरपालिकाको राहत कोषमा पार्टीका तर्फबाट ३ लाख ५७ हजार रुपैयाँ हस्तान्तरण गरियो । यसरी वडाबासी र नगरबासीका लागि मरिमेट्दा उनको लागि जोखिमसँगै कष्टपूर्ण पनि रह्यो । कोरोनाको महामारीमा जोखिम मोलेर रातदिन खटिँदा उनी र उनको परिवारले अनेकन समस्या र पिर खेप्नु पर्यो । लकडाउनको असहज परिस्थितिमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरी सेवाग्राहीहरुको सेवा सुविधामा कमी हुन नदिएको वडा सचिव भीम अधिकारी बताउँछन् ।
नेपाल बक्सिङ संघका निर्वाचित केन्द्रीय उपाध्यक्ष रहेका भोजराज खेल क्षेत्रमा पनि उतिकै सक्रिय छन् । उनी काँग्रेससँगै अन्य पार्टीका कार्यकर्तामाझ पनि लोकप्रिय छन् । राजनीतिभन्दा भन्दा माथि उठेर भोजराजले विकास निर्माण र समाजसेवा गरेको नेकपा एमाले नगर सदस्य कैलाश प्रसाईले बताए । ‘ चार वर्ष वडाध्यक्ष भएर काम गरिरहँदा भोजराजको बारेमा नराम्रो मैले केही पनि पाएको छुइनँ ’उनले भने ,‘ बिर्तामोडबासीका लागि उहाँको नेतृत्वको खाँचो छ ।’ नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भोजराजले बिर्तामोड नगर सभापतिमा भोलि उम्मेद्वारी दिने भएका छन् ।