बिर्तामोड , असोज ९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) सैनिकमोडको २९ औं एकाईगत साधारणसभा सम्पन्न भएको छ ।
सहकारीको परिवर्तित विधानअनुसार सबै सदस्यलाई उपस्थित गराउन नसकिने भएकाले सबै सेवाकेन्द्रहरुमा एकाईगतरुपमा साधारणसभा सम्पन्न गरी संस्थाको अन्तिम वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनोट गरिएको हो।
एनएमसी सैनिकमोड कार्यालयगत उपसमिति संयोजक तोमप्रसाद ओलीको सभापतित्व एवं बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रम गौरवती सतानु सिंह राजवंशी स्मृति प्रतिष्ठान सैनिकमोडको सभाहलमा भएको थियो।
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समिति सदस्य सीताकुमारी श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समिति सदस्य रचना दाहालले प्रस्तुत गरेकी थिइन्। त्यस्तै स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदन तथा आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट केन्द्रीय कर्मचारी लेखा प्रमुख मनिषा तिम्सिनाले प्रस्तुत गरेकी थिइन। प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि साधरणसभाबाट पारित गरिएको छ ।
प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयरपूँजी एक अरब एघार करोड ६० लाख ६ हजार र निक्षेप मौज्दात आठ अरब, ८५ करोड, ४२ लाख २३ हजार रहेको छ। बैकिङ, डेरी, कृषि, सहकारी पसल र चिया व्यवसाय गर्दै आएको एनएमसीका हाल जिल्लाभर ४३ वटा तथा मोरङ र इलाममा एक–एक वटासहित ४५ वटा शाखा सञ्चालनमा रहेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवाकोटीले सहकार्यबाटै आर्थिक तथा सामाजिक विकास संभव हुने भएकोले एनएमसी सहकारीले यसतर्फ ठूलो भूमिका खेलेको बताए। उनले वित्तीय अनुशासन,निष्पक्षता, सदाचारजस्ता गुण संस्थाका नेतृत्व तहबाट अवलम्बन गरिएका कारण असल संस्कार र समृद्धि भन्ने नारा अनुसारकै कामतर्फ संस्था अघि बढिरहेको बताए।
बिशिष्ठ अतिथि पूर्व राष्ट्रिय सभाका सदस्य हरिचरण शिवाकोटीले राम्रा नीति तथा योजनाकै कारण एनएमसी उत्कृष्टता हासिल गर्न सफल भएको बताउँदै सहकारीलाई सही बाटोमा हिडाउन शेयर सदस्यको महत्वपूर्व भूमिका हुने हुँदा सबै सदस्य जिम्मेवार भएर सक्रिय रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा सामाजिक, धार्मिक व्यक्तित्व ध्रुवप्रसाद शिवाकोटी, मोहनप्रसाद उप्रेती, सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष श्रीप्रसाद शिवाकोटीलगायतको आतिथ्य रहेको थियो। सैनिकबजार कार्यालयगत उपसमिति सदस्य डिकेश प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सैनिकमोड कार्यालय प्रमुख कुस्पना खरेलले गरेकी थिइन्।