झापा,मंसीर २८ । इलामको माईजोगमाई गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नं ४ गैरीगाउँमा मे १ त ११७३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ५४ बर्षिय पूर्ण घलेको घटनास्थलमा नै मृत्यु भएको हो । पराल बोकेको ट्रयाक्टर खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लाशको कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमको लागि इलाम अस्पताल ल्याइएको इलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ । त्यसैगरी सूर्योदय नगरपालिका–६ तारगाउँमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

हर्कटेबाट रम्भ्याङ तर्फ जाँदै गरेको मे १ त ७९८९ नम्बर ट्रयाक्टर भिरबाट खस्दा ट्रयाक्टरमा सवार होमबहादुर भुजेल, भिम बहादुर खड्का र ठाकुर भुजेल घाइते भएका छन् । करिब ४ घण्टाको स्थानीय र प्रहरीको प्रयासले पनि ट्रयाक्टर चेपिएका उनीहरुको उद्धार गरि उपचारका लागि पठाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । होमबहादुर सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य २ जनाको बि एन्ड सी अस्पताल झापामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्