झापा, पुष ५ । नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापतिसमेत रहेका पत्रकार हुमागाईले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुमागाईले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरेका हुन् । उनले आइतबार नेपाल पत्रकार महासंघ झापामा पत्रकार सम्मेलन गर्दै पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट समेत राजीनामा दिएका छन् । राजीनामा पत्र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे ।

सञ्चार उद्यमीको रुपमा रहेर आफूद्वारा सम्पादित÷प्रकाशित जय लोकतन्त्र साप्ताहिक पत्रिकालाई भने कर्मचारीमार्फत प्रकाशनमा निरन्तरता दिने बताए । २० बर्षको उमेर हुँदादेखि नै आफू २०४५ सालबाट पत्रकारिता पेशामा आबद्ध रहेको बताएका हुमागाईले आफू ५३ बर्ष पूरा गरुन्जेल लगभग ३४ बर्षसम्म झापामा रहेर सक्रिय पत्रकारिता गरेको अनुभव सुनाए ।
यस अवधिमा नेपाल पत्रकार महासंघ झापाको सचिव, उपसभापति हुँदै सभापति भएका उनले २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिकाकै कारण पत्रकारिता र राजनीतिक वृत्तमा चर्चा कमाएका थिए ।

२०६२÷०६३ को जनआन्दोलनमा सक्रियता देखाएकै कारण उनी पटक–पटक पक्राउ पर्नुका साथै निर्वासित जीवन विताउनु परेको थियो भने भारतीय प्रहरीले पक्राउ गरी जलपाइगुरीस्थित भक्तिनगर थानामा केही दिन हिरासतमा राखेको थियो ।
नेपाल पत्रकार महासंघको अध्यक्ष रहँदा भद्रपुरस्थित महासंघको भवन निर्माण र बिर्तामोडमा जग्गा जोड्ने कार्यमा महत्वपूर्ण भूमिका पत्रकार हुमागाईको रहेको थियो । सक्रिय राजनीतिमा रहेर पनि महासंघको संस्थागत विकास एवं प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो सदैव सहयोग रहने हुमागाईले बताए ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवादको पक्षमा २०४५ सालबाट मिसन पत्रकारिता थालेका हुमागाई नेपाल प्रेस युनियन झापाको पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य पनि हुन् । निम्न मध्यम वर्गीय परिवारमा जन्मेका पत्रकार हुमागाईले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनेका छन्–‘राजनीति कुनै पनि देशको मूल नीति हो । राजनीति ठीक ढंगले चल्यो भने देशमा स्थिरता, शान्ति र पद्धतिको विकास हुन्छ र जनताले सुख पाउँछन् । राजनीतिलाई किनारामा बसेर विग्रियो भनेर गाली गरेर मात्र नहुने ठानेर म सक्रिय राजनीतिमा होमिएको हुँ । राजनीतिमा सबै खराब मात्र छन् भन्ने, अनि राम्रा भनिएका मान्छेहरु राजनीतिमा प्रवेश नगर्ने हो भने कसरी राजनीति सप्रिन्छ होला र ।’
नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले नेपालका कम्युनिष्ट तथा लोकतन्त्रवादी भनिएका दलहरुमा हुने खाने र भ्रष्टाचारी, एवं नैतिकताहीन ब्यक्तिहरुको बोलवाला रहेको बताउँदै राजनीतिमा नैतिकवान, सिद्धान्तनिष्ठ र निष्ठावान मानिसहरु पाखा लाग्दै जाने अवस्था आउनु दुःखद भएको चर्चा गरे ।

आफू राजनीतिबाटै पत्रकारितामा प्रवेश गरेको इतिहास बताउँदै भण्डारीले राजनीतिमा विश्वास, कुर्वानी, सिद्धान्त र निष्ठा सकिएपछि आफूले त्यो क्षेत्र छाडेको समेत सुनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव लोकराज ढकाल, पूर्व सभापति मोहन काजीलगायतले बोल्दै राजनीतिमा निष्ठा, समर्पण, नीति र सिद्धान्त क्रमश ह्रास आइरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रदेश सदस्य सुरेन्द्र भण्डारी, उपाध्यक्ष केशव भट्टराई, पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य गोपाल काफ्ले, प्रेस चौतारीका केन्द्रीय सदस्य मुक्ति पौडेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, फोटो पत्रकार संघका अध्यक्ष विनोद पाण्डेलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्