बिर्तामोड , पुष ८ । वीर अमरसिंह माध्यमिक विद्यालय चारपानेमा विद्यार्थी बोक्ने गाडी खरिद प्रकृया अघि बढेको छ।

बिर्तामोड २ स्थित वीर अमरसिंह माविमा हाल बिर्तामोड ,कन्काई,अर्जुनधारा नगरपालिकाका बालबालिका अध्ययन गर्दै आएका छन् । उक्त विद्यालयमा प्राविधिक विषय पनि पढाइ हुने भएकाले विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो रहेको प्रधानाध्यापक यदुनाथ अधिकारी बताउँछन् । टाढा टाढाबाट विद्यार्थी आउने भएता पनि यातायातको व्यवस्था नहुँदा अभिभावक र विद्यार्थीलाई समस्या पर्दै आएको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा समुदाय र सरकारको सहयोग तथा ब्यबस्थापनमा युवा पुस्ताको सहभागिताले गुणस्तरमा वृद्धि हुँदै गएको अभिभावकको बुझाई छ । विद्यार्थीको सुबिधालाई मध्यनजर गर्दै विद्यालय ब्यबस्थापन समितिले २ वटा गाडी खरिद गर्ने निर्णय गरेको समितिका अध्यक्ष किशोर पौडेलले जानकारी दिए। उनले केही आन्तरिक श्रोत र केही चन्दा दानबाट गाडी खरिद गर्न लागिएको बताए । स्थानीय राजनीतिक दल,पूर्व विद्यार्थी ,व्यवसायी,संघसंस्था सबैको सहयोगमा गाडी खरिद गरिने जनाइएको छ । अध्यक्ष पौडेलले गाडी खरिद गर्न आफ्नो तर्फबाट ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
नगरपालिकाभित्र १८ वटा सामुदायिक ,५५ वटा निजी र २ वटा धार्मिक विद्यालय संचालनमा छन् । जसमध्ये ३ वटा विद्यालयमा सरकारी तथा अन्य दातृ निकायको सहयोगमा गाडी संचालनमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्