झापा, पुष ८ । बिर्तामोड नगरपालिका ४ मा रहेको अनारमनी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

Advertisement

नेपाल सरकारको १६ लाख रुपैयाँ र जिल्ला समन्वय समिति झापाको ८ लाख गरी २४ लाख रुपैयाँको लागतमा निर्मित २ कोठे भवनको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उद्घाटन गरेका हुन् ।
योसंगै विद्यालयमा आइसीटी कक्ष, खाजा घरको समेत उद्घाटन गरिएको छ भने विद्यार्थीलाई टाई र बेल्ट वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक टंक कटुवालका अनुसार कम्प्युटर कक्ष(आइसीटी) पाँच लाख रुपैयाँको लागतमा तयार गरिएको हो । बिर्तामोड नगरपालिकाको सहयोगमा आइसीटी कक्ष तयार भएको जनाइएको छ ।

सहारा नेपालसंगको साझेदारीमा चार लाख रुपैयाँको लागतमा खाजा घर तयार गरिएको छ । सहारा नेपालको तर्फबाट दुई लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाले दुई लाख रुपैयाँ प्रदान गरेपछि खाजा घर निर्माण गरिएको प्रधानाध्यापक कटुवालले बताए ।
कक्षा ७ सम्म अध्ययनरत २६९ जना विद्यार्थीलाई टाई बेल्ट वितरण गरिएको हो । योसंगै विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने खेल क्षेत्रमा उत्कृष्ट हुने सबै विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर शिक्षा प्रमुख तिलचन भण्डारी,बिर्तामोड नगरपालिका ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलालगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कटुवालले विद्यालय भवनको अभाव हुँदा अझैं पनि चारवटा कक्षालाई संयुक्त रुपमा सञ्चालन गर्नु परेको भन्दै प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत दाहाल र शिक्षा शाखा प्रमुख भण्डारीको ध्यानाकर्षण गराएका थिए ।
अहिले सो विद्यालयमा कक्षा १ र २ को संयुक्त कक्षा सञ्चालित छ भने ३ र ४ को समेत कक्षा कोठाको अभावमा संयुक्त कक्षा सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमको सञ्चालन तुलसा ओझाले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्