मेचीनगर, पुष २१ । पूर्वी नाका काँकरभिट्टामा मेचीनगर नगरपालिकाको काँकरभिट्टा हेल्थ हेल्प डेक्स बुधबारबाट सञ्चालनमा आएको छ ।

सुविधासम्पन्न र बेडसहितको काँकरभिट्टा हेल्थ हेल्प डेक्सको नगर प्रमुख विमल आचार्यले उद्घाटन गरेपछि सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मेचीनगर नगरपालिकाको पहलमा स्वास्थ्य जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करीव ५० लाख रुपैयाँ हेल्थ डेक्स निर्माणका लागि विनियोजन गरिएको थियो । त्यसमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
सबै सीमा क्षेत्रहरुमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्ष अघिदेखि ठाउँठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरेको भन्दैं नगरप्रमुख आचार्यले कहिले औलो, कहिले कालोज्वरो, कहिले दादुरा तथा कहिले पोलियो रोग नियन्त्रणका लागि यस्ता संरचना तयार गरिएको बताए ।

अहिले कोभिड ओमिक्रोन समेतको संक्रमण सीमावर्ती क्षेत्रमा देखिएकाले र यो विशेष नाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरिएको नगरप्रमुख आचार्यको भनाई छ । कोभिडलगायत अन्य महामारी नियन्त्रणमा यो काँकरभिट्टा हेल्थ हेल्प डेक्सले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
एउटा प्रारम्भिक उपचारको केन्द्रको रुपमा यो संरचना स्थापित गरिएको उनको भनाई छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न समयमा आउने विभिन्न खाले महामारी नियन्त्रणमा नगरका सबै क्षेत्रले भूमिका खेल्न आवश्यक रहेको बताइन् । डेक्समा बेडको पनि व्यवस्था रहेकाले अन्य खालका विरामीहरुले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने उनले जानकारी दिइन् ।

मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए । कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न राजनीतिक दल,संघसंस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्