बिर्तामोड , पुष २३ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भारतमा फैलिदै गर्दा पूर्वी नाका काँकडभिट्टामा संक्रमणको जोखिम बढेको छ ।

काँकडभिट्टा नाका भएर भित्रिनेहरुमा कोरोना संक्रमणको दर बढ्दै गएको हो । यसअघि सो नाका भएर भित्रिने एकजनामा संक्रमण पुष्टि भएकोमा बिहीबार एकैदिन ६ जनामा कोरोना संक्रमण भेटिएको छ । बिहीबारदेखि नाकामा कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्य कार्यालय झापाका भोला थापाले बताए । उनले भारत भएर नेपाल भित्रिने नेपालीहरुमा संक्रमण फेरि बढेको जानकारी दिए ।

नाकाबाट भित्रिने नेपालीहरुको एन्टीजेन टेष्ट गर्नका लागि काँकडभिट्टा नाकामा हेल्थ हेल्प डेस्क स्थापना गरिएको छ । विगतमा नाकाको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मल गनसँग मात्र हुन्थ्यो । तर, अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्री छन् । ७२ घण्टाभित्र पिसिआर परीक्षण गरेको र रिपोर्ट पोजिटिभ भएका गैरनागरिकलाई मात्र नाकाबाट प्रवेश गर्न दिइएको थापाले बताए । कोरोना खोप लगाएका नेपालीहरुको हकमा एन्टीजेन टेष्ट गराएर मात्र प्रवेश गर्न दिइएको उनले जानकारी दिए ।

अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । जसका कारण नजिकका भारतीय बजार पानीट्यांकीलगायतका ठाउँ पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरुकै कारण नाकामा जोखिम पनि बढेको छ । दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन् । तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । यसैबीच झापामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बिहीबार एकजनामा संक्रमण देखिएकोमा शुक्रबार ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्