झापा, पुष २३ । नेकपा एमाले झापाको १० औं अधिवेशन शुक्रबारबाट शुरु भएको छ ।

बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुरु भएको अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गरे । अध्यक्ष ओलीले छोटो शुभकामना मन्तव्य दिदैं आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे । शनिबारसम्म सञ्चालन हुने जिल्ला अधिवेशनको पहिलो दिन उद्घाटन सत्र सम्पन्न गरेर बन्दसत्र शुरु गरिएको छ । बन्दसत्रमा अध्यक्ष चिन्तन पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कार्यालय सचिव शिव ढुङ्गेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । दुवै प्रतिवेदनमाथि ७ समूह विभाजन गरेर छलफल गरिएको छ । समूहका ७ संयोजकहरुले शनिवार १० बजेदेखि शुरु हुने बन्दसत्रमा छलफलको निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ । प्रतिवेदन पारित गरेपछि निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।

निर्वाचन प्रक्रिया प्रारभ्म भएपछि उम्मेद्वारी दर्तालगायतका कार्यक्रम हुने कार्यालय सचिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सर्वसम्मत हुने भएमा शनिवार नै नेतृत्व चयन हुने छ । यस्तै, बन्दसत्रले संगठनात्मक संरचना पारित गरेको छ । पारित गरिएको संरचना अनुसार १५० सदस्यीय जिल्ला कमिटी बन्ने छ । कचनकवल, गौरीगञ्ज,कमल, बुद्धशान्ति,हल्दिवारी, बाह्रदशी, झापा, कनकाई, र भद्रपुरले ३÷३ जना सदस्य पाउने भएका छन् । त्यसमा १ महिला अनिवार्य गरिएको छ । शिवसताक्षी, दमक,बिर्तामोड,अर्जुनधारा, मेचीनगर र गौरादहले ४÷४ जना सदस्य पाउने छन् । त्यसमा २ जना महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का दरले ५ जना र प्रदेश सभा निर्वाचन क्षेत्र २ जनाका दरले २० सदस्य पाउने छ ।

यस्तै, दलित समुदायको प्रतिनिधित्व हुनेगरी महिला पुरुष ७ जना, आदिवासी जनजाति ९, श्रमिक ५, मधेशी २, सिमान्तकृत ३, मुस्लिम १, व्यवसायी २, युवा विधार्थी खेलकुदबाट २ पेशागत २, सञ्चारकर्मी, अपांग, सुकुम्बासी, सांस्कृतिकर्मी , गैसस, सहकारी क्षेत्रलाई १÷१ जना सदस्य दिइनेछ । कानुन व्यवसायी, चिकित्सक, इञ्जिनियर र प्राध्यापकबाट जम्मा २ जना सदस्य बनाइने बन्दसत्रले पारित गरेको छ । अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट निर्वाचित १५०, त्यसको १० प्रतिशत बराबर १५ जना र अन्य पार्टीबाट एमालेमा समाहित भएका नेता कार्यकर्ताका लागि थप १० प्रतिशत बराबर १५ गरेर १८० सदस्यीय बनाइने भएको छ । १८० मा पनि थप १ जना गरेर १८१ सदस्यीय जिल्ला कमिटी बनाइने बताइएको छ ।
पार्टीका जिल्ला अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अग्नि खरेल, हिक्मतकुमार कार्की, दुर्गा प्रसाई, विष्णु प्रसाईलगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्