झापा , पुष २७ । पछिल्लो २४ घण्टामा झापामा थप पच्चीस जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार मेची कोटीहोम ल्याबमा ७२ जनालाई परीक्षण गर्दा १८ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्ला बाहिरको ल्याबबाट २ जना र एन्टिजेन विधिबाट ५ जनालाई संक्रमण पुष्टि भएको हो । सोमबार जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको थियो । झापामा पिसिआर प्रविधिबाट ७४ र एन्टिजेनबाट २२ गरी हाल ९६ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ३ जना अस्पतालमा उपचाररत छन् भने अन्य होम आइसोलेसनमा रहेको जनाइएको छ ।
त्यस्तै देशभरि एकैदिन २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा थप त्यति जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनामा पिसिआर र चार हजार तीन ८५ जनामा एन्टिजेन गरी १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। संक्रमणका कारण २४ घण्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मंगलबार देखिएको तथ्यांक सोमबार देखिएको तथ्यांकभन्दा झन्डै दोब्बर हो। सोमबार एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, पछिल्लो २४ घण्टामा तीन सय १३ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय २२ जना रहेको छ ।