धर्मेन्द्र मामा,
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ का महिलाहरुले सीपमुलक तालिम लिन थालेका छन् ।

महिलाहरुलाई लक्षित गरी नडियाबारीस्थित काली माता मन्दिर व्यवस्थापन समितिको आयोजनामा तीनदिने अर्ग्यानिक धुप बनाउने तालिम बुधबारदेखि सुरु भएको हो । स्थानीय कीर्तन मण्डलीहरूमा आबद्ध ती महिलाहरु अब भने आफूलाई दैनिक पूजाआजामा आवश्यक पर्ने धूप बत्ती आफै निर्माण गर्न जागरूक देखिएका छन् । आदर्श किर्तन मण्डली, आशिर्बाद किर्तन मण्डली र हरिहर किर्तन मण्डलीका ४३ जना महिलाहरु तालिममा सहभागी छन्।
काली माता मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भईरहेको उक्त तालिमको उद्घाटन पूर्वमहान्यायधिवक्ता अग्निप्रसाद खरेलले गरेका थिए । उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई , जरोकिलो महाअभियान प्रदेश नम्बर १ का महासचिब अर्जुनकुमार भट्टराई, स्थानीय समाजसेवी काजी बुढाथोकीलगायतले फुर्सदमा रहेका महिलाहरुलाई सीप विकास तालिम दिँदा समयको सदुपयोग हुनुका साथै व्यवसाय गर्न समेत प्रोत्साहन मिल्ने बताए ।
अहिले बजारमा उपलब्ध अगरबत्तीहरूको वैकल्पिक सामग्रीको रुपमा स्थानीय जडीबुटीहरूको प्रयोग गरी निर्माण गरिने अग्र्यानिक धुप धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले समेत उत्तम मानिन्छ । बजारमा पाइने अगरबत्तीहरुमा केमिकलको प्रयोग हुने गरेको र यसले स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने गरेको छ । यस तालिममा तितेपाती, भैरुंपाती, सालको धूप र धुपीलगायतका कच्चा पदार्थहरुको धुलो प्रयोग गरी नेपाली कागजमा अर्ग्यानिक धुप निर्माण गरिएको छ । यसको प्रयोगबाट लामखुट्टे समेत भाग्ने , सुगन्ध राम्रो हुने र त्यसबाट निस्किने धुवाँले स्वास्थ्यमा असर नपार्ने बताइन्छ । तालिममा सहभागी महिलाहरुलाई खिमकुमारी ओलीले प्रशिक्षण दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज रोकाले जानकारी दिए ।