झापा, पुष २९ । झापाको कनकाई नगरपालिका १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रा.लिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

शारीरिक रुपमा अशक्त एवं सुस्तमनस्थिति भएका १२ जना बालबालिकाहरुलाई बिहीबार २५ हजार रुपैयाँ बराबरको चामल,दाल,तेल, चिनी,चना मटरलगायतका खाद्यन्न सामग्री सहयोगस्वरुप वितरण गरिएको अपार फाउण्डेसनकी अध्यक्ष तथा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले बताइन् । अध्यक्ष मैनालीले वृद्ध र अनाथहरु भन्दा पनि सुस्तमनस्थिति भएका बालबालिकालाई हेर्न निकै कठिन हुने भएकाले खाद्यान्न सहयोग गरेको बताइन् ।

फाउण्डेसनले गरेको सहयोग बालबालिका र संस्थाको लागि निकै महत्वपूर्ण रहेको भन्दै कनकाई नगरपालिका १ का वडाध्यक्ष रोशन पोखरेलले धन्यवाद व्यक्त गरे । खाद्यान्न सहयोग कार्यक्रममा बोल्दै सुस्तमनस्थिति सरोकार समाजकी संस्थापक अध्यक्ष शान्ता पोखरेलले अपारको सहयोगले थप हौसला मिलेको भन्दै खुशी व्यक्त गरिन् ।

अपार फाउण्डेसनले बिहीबार नै महिलाहरुको जीवनस्तरलाई उकास्नको लागि भाक्का बनाएर बेच्ने महिलाहरुलाई पनि रकम सहयोग गरेको छ । राष्ट्रिय भाक्का दिवसको अवसरमा बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा भाक्का बनाउने ३८ जना महिलाहरुलाई जनही ५०० रुपैयाँका दरले १९ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्