बिर्तामोड ,पुष ३० । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएसंगै झापाको बिर्तामोडमा संक्रमितहरुको संख्या तीब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो पाँच दिनमा बिर्तामोडका ६१ जना कोरोना संक्रमणबाट संक्रमित भएका छन् । तेस्रो लहर शुरु भएसंगै झापा जिल्लामा सबैभन्दा बढी बिर्तामोडमा कोरोना संक्रमित देखिएका छन् । पाँच दिनको तथ्यांकलाई भन्नुपर्दा सोमबार १४ , मंगलबार ५ , बुधबार ११ , बिहीबार १४ र शुक्रबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

तेस्रो लहरमा जिल्लाभरिका संक्रमितलाई हेर्दा करिब आधा जति बिर्तामोडका छन् । सोमबार जिल्लाका ३४ जना संक्रमित हुँदा त्यसमध्ये १४ जना बिर्तामोडका हुन् । त्यस्तै मंगलबार जिल्लाका २५ मध्ये बिर्तामोडका ५ , बुधबार जिल्लाका १६ मध्ये बिर्तामोडका ११ , बिहीबार जिल्लाका ३७ मध्ये बिर्तामोडका १४ जना हुन् । हाल बिर्तामोडमा ६६ जना सक्रिय संक्रमित रहेका छन् । ती सबै होम आइसोलेसनमा रहेका छन् । पहिलो लहरदेखि हालसम्म बिर्तामोडमा ५ हजार ७ सय ११ जना संक्रमित भएका छन् । त्यसमध्ये ५ हजार ५ सय ७८ जना संक्रमण मुक्त भएका छन् ।बिर्तामोडमा कोरोनाका कारण ६७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो लहरमा बिर्तामोडमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको बिर्तामोड नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । उनले संक्रमण रोक्न सबैले सचेत हुनुपर्नेमा जोड दिए ।

बिर्तामोडमा मास्क वितरण
विगत केही दिनयता कोभिड संक्रमितको संख्या बढ्न थालेसंगै बिर्तामोडमा सामूहिक मास्क वितरण गरिएको छ ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार बिर्तामोडमा मास्क वितरण गरेको हो ।
सहकारीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तरगत आयोजित कार्यक्रममार्फत २० हजार मास्क वितरण गरिएको संस्थाका सञ्चालक समिति सदस्य चन्द्रकुमार भट्टराईले जानकारी दिए । सहकारीले पैदलयात्रीदेखि सवारी साधनमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण गरेको हो । बिर्तामोडस्थित मुक्तिचोकका चारैतिर सहकारी र जिल्ला ट्राफिक प्रहरीको टोलीले मास्क वितरण गरेको संस्थाकी अध्यक्ष देविका बस्नेतले बताइन् । मास्क वितरणमा ट्राफिक प्रहरीले ठूलो सहयोग पुर्याएको भन्दै अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गरिन् ।
त्यस्तै शुक्रबारै सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडले पनि बिर्तामोडको भद्रपुर रोडमा मास्क वितरण गरेको छ । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालसहित समितिका पदाधिकारीले सामूहिक रुपमा मास्क वितरण गरेको केन्द्रका लक्ष्मी गौतमले जानकारी दिए ।
कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम बढिरहेका बेला मास्क अनिवार्य भएपनि सडकमा धेरै मानिसहरु विना मास्क हिड्ने गरेको पाइएको साना मझौला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्