धर्मेन्द्र मामा ,
बिर्तामोड, माघ ३ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ का बासिन्दाहरु अहिले हात्तीको प्रकोपबाट पीडित बनेका छन् ।

दैनिकजसो हुलका हुल आउने जंगली हात्तीका कारण गाउँलेहरु विगत दश दिनदेखि सुत्न पाएका छैनन् । दिनभर स्थानीय निचाझोडा जंगलमा बस्ने ती जंगली हात्तीहरु साँझ परेपछि गाउँतिर प्रवेश गर्न थाल्छन् र गाउँमा आतंक मच्चाइरहेका छन्। आहाराको खोजीमा निस्कने ती जंगली हात्तीको संख्या अहिले सात वटाको छ । कहिले झुण्डमा त कहिले छुट्टाछुट्टै भएर विभिन्न टोलहरुमा प्रवेश गरी स्थानीयको घरबाट खाद्यान्न खाएर नष्ट गर्ने गरेका छन् ।
‘राति दश बजेपछि घरमा बत्ती बालेर कति बेला हाती आउने हो भनेर रुंग्नु पर्छ । हात्ती गाउँमा प्रबेश गर्नासाथ गाउँलेहरु थाल बटुका भाँडाकुँडा नाङ्लो ठटाएर धपाउने प्रयास गर्छन् । स–साना बालबालिकाहरुलाई हात्तीको आक्रमणबाट जोगाउन साथै उनीहरुमा पर्ने मनोवैज्ञानिक त्रासले गाउँ नै अहिले विक्षिप्त बन्न थालेको छ हात्तीको त्रासबाट विगत तीन दिनदेखि डरले बिरामी नै परेका आफ्ना छोरालाई देखाउँदै स्थानीय मिलडाँडाकी सीता पौडेलले भनिन् । ‘बेलुका भएपछि साना नानीहरू रुन कराउन थाल्छन् । म आफू पनि रातभरि सुत्न नपाएका कारण बिरामी परिसके’ उनले थपिन् ।

अहिले गाउँलेहरुले आफ्नो घर वरिपरि तारबार गरी कपडा र प्लाष्टिक झुन्ड्याएर हात्तीलाई छेक्ने प्रयास गरेका छन् तर, हात्ती जथाभावी पस्ने र घरमा भएको खाद्यान्न खाने, घर नै भत्काउने काम रोकिएको छैन।
विशेषगरी बिर्तामोड वडा नम्बर ७ का बिरान , खालवारी मिलडाँडा हुँदै वडा नम्बर ८ को हर्चना, मेथीबारीसम्मका बासिन्दाहरु अहिले दैनिकजसो हात्तीको आतंकबाट पीडित छन्। एक हप्ताको अवधिमा स्थानीयहरुको धेरै बालीनाली नोक्सान गर्नुका साथै घर ,भान्साघर र ग्वालीहरु समेत क्षतिग्रस्त पारिदिएको छ । हात्तीको आतंकबाट बच्न स्थानीयहरुले स्थानीय गोलधापमा रहेको सशस्त्र प्रहरी बललाई खबर गर्ने गरेको र उनीहरुले सायरन बजाए पनि हात्तीले नटेर्ने गरेको स्थानीयको भनाइ छ । लक्ष्मी निमावि नजिकै रहेकी कृष्णमाया लिम्बुले दुखेसो पोख्दै भनिन् ‘अब त हामीलाई बाँच्न पनि गाह्रो भैसक्यो,आफू बाँच्ने कि छोराछोरी बचाउने कि घर बचाउने भन्ने कुराले सधैं चिन्ता भइरहेको छ ।’
जंगली हात्तीको आक्रमणबाट त्यस क्षेत्रका बासिन्दा विगत लामो समयदेखि पीडित बन्दै आएका छन् । कतिपयले त ज्यान नै गुमाइसकेका छन् भने कतिपयको घरहरु क्षतिग्रस्त भएका छन् तर राज्यको भने ध्यान गएको देखिन्न ।