झापा , फागुन १ । झापाका एक जना युवालाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले कटुवा पेस्तोलसहित आज बिहान पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका-६ नयाँ बस्तीका २४ वर्षीय मुगालाल माझीलाई घरैबाट हतियारसहित पक्राउ गरिएको जानकारी सशस्त्र प्रहरी बल झापाका प्रवक्ता डीएसपी प्रेमबहादुर भण्डारीले दिए । माझीले आफ्नै घरमा हतियार लुकाएर राखेको जानकारी सुरुमा सशस्त्रलाई आएको थियो । त्यसपछि नेपाल प्रहरीसँग समन्वय गरेर उनको घरमा खानतलासी गरिएको डीएसपी भण्डारीले बताए । डीएसपी भण्डारी र नेपाल प्रहरीका निरीक्षक दलकुमार राई नेतृत्वको संयुक्त टोलीले माझीको घरमा छापा हानेको हो । त्यस क्रममा बिहान ६ः३० बजेतिर बाहिरपट्टि लुकाएर राखेको अवस्थामा खाली पेस्तोल फेला परेको भण्डारीले बताए । पेस्तोलमा लाग्ने गोली भने भेटिएन ।

प्रहरीका अनुसार गोली कतै लुकाएर राखिएको हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको छ । पेस्तोलसहित पक्राउ परेका माझीविरुद्ध हातहितयार खरखजना मुद्दा चलाइने भएको छ । पेस्तोल कहाँबाट ल्याएका हुन्भन्ने तत्काल नखुले पनि प्रहरीले भने भारतबाट ल्याएको हुनसक्ने आशंका गरेको छ । यसअघि पनि सशस्त्र प्रहरीले झापाबाट दुई पटक गरेर हतियार र विष्फोटक पदार्थ बरामद गरिसकेको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बारम्बार हतियार र विष्फोटक पदार्थ फेला पर्न थालेपछि भारतसँग सीमा जोडिएका स्थानमा थप निगरानी बढाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । शान्ति सुरक्षाका सवालमा कुनै पनि सम्झौता नगर्न र थप चनाखो रूपमा प्रस्तुत भएर शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन उनको निर्देशन छ । ‘विशेष टोली परिचालन गरेर नेपाल-भारत सीमा क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ ,’ डीआइजी गिरीले भने, ‘अवैध एवम् अवाञ्छित गतिविधी नियन्त्रणमा लिन नेपाल प्रहरीसँग समन्वय गर्दै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । ’ गिरीले हतियार एवं लागूऔषधको ओसारपसार, सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र शान्ति सुरक्षाका सवालमा सशस्त्र प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्