बिर्तामोड, फागुन १। आगामी बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयरको दावेदारमा पुरानै अनुहारहरु देखिएका छन् ।

२०७४ सालको निर्वाचनमा दावी गर्नेहरु नै यसपटक पनि मेयरको आकांक्षी बनेका हुन् । नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी केन्द्र सबै पार्टीमा मेयरको दावी गर्नेमा अघिल्लो निर्वाचनमा टिकटको होडमा रहेकाहरु नै छन् ।

सत्तारुढ नेपाली कांग्रेसमा हेर्ने हो भने गत स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि प्रतिष्पर्धा गर्ने जलकुमार गुरुङ र भोजराज सिटौलाबीच यसपटक पनि मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा गुरुङले मेयरको टिकट पाएका थिए भने सिटौलाले मेयरमा उठ्ने इच्छा त्याग्नु परेको थियो । मेयरको टिकट पाएर निर्वाचन हारेका गुरुङ र टिकट नपाएका सिटौला दुवैजनाले मेयरको टिकटका लागि लबिङ थालिसकेका छन् । बिर्तामोड वडा नं ३ का वडाध्यक्ष रहेका सिटौला नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति र गुरुङ पार्टीका जिल्ला सदस्य हुन् । यसअघि सम्पन्न नेपाली कांग्रेसको नगर अधिवेशनमा सभापति पदका लागि सिटौला र कुलप्रसाद संग्रौलाबीच भएको प्रतिष्पर्धालाई गुरुङसंगको सिटौलाको प्रतिष्पर्धा भनेर विश्लेषण गरिएको थियो ।

गत निर्वाचनमा त्याग गरेपनि यस पटक आफूले शतप्रतिशत मेयरमा उठ्ने मनस्थिति बनाएको सिटौलाले बताए । ‘ मेरो राजनीतिक भविष्यका लागि बिर्तामोडको मेयरको टिकट गर वा मरको स्थितिमा हो ’ उनले भने ,‘त्यसकारण मैले उठ्नै पर्छ ।’ अर्कोतिर गत निर्वाचनका प्रत्यासी गुरुङले बिर्तामोडको मेयरको टिकट आफ्नो बटमलाइन भएको बताएका छन् । ‘मैले त्यसका लागि निरन्तर कर्म गरिरहेको छु ’उनले भने ,‘ जनताको आबश्यकता पनि यही हो ।’ गत निर्वाचनमा सिटौलाले मेयरमा उठ्ने इच्छा गरिरहँदा गुरुङ , हर्कलाल गिरी , दिपेन्द्र पोखरेल , युवराज प्रसाई र युवराज बिमलीले घेरावन्दी गरेका थिए । यसपटक पनि गिरीले मेयरमा उठ्ने इच्छा व्यक्त गरिरहेको जनाइएको छ । गुरुङलाई प्रदेशको निर्वाचनका लागि अनौपचारिक प्रस्ताव गरिएकोमा उनले त्यसलाई अस्वीकार गरेको बताइएको छ ।

त्यस्तै नेकपा एमालेमा पनि पुरानै अनुहारहरुले दावी गरिरहेका छन् । अहिलेका मेयर धु्रवकुमार शिवाकोटी दोस्रो कार्यकाल दोहो¥याउने दाउमा छन् । त्यस्तै प्रदेश सांसद एकराज कार्की , उपमेयर पवित्रा महतारा प्रसाई , बिर्तामोड नगरपालिकाको जागिर छोडेका देवराज कार्की , वडा अध्यक्षहरु अग्नीप्रसाद पाण्डे , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , मोहन शिवाकोटीको नाम चर्चामा रहेको छ । पाँच वर्षको पहिलो कार्यकालमा नीति बनाएको र अबको पाँच वर्षको अर्को कार्यकालमा काम गरेर देखाउने मेयर शिवाकोटीले भन्ने गरेका छन् ।

अर्कोतर्फ गत निर्वाचनमा मेयरको जबर्जस्त इच्छा राखेका प्रदेश सांसद कार्कीलाई यस पटक मेयरमा उठ्न सजिलो छैन । प्रदेश सांसदको कार्यकाल नसकिने भएकाले मेयरमा उठ्न उनले पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यस्तै एमालेमा उपमेयर पदका लागि वडाध्यक्षहरु पवित्रा पाठक , राजेन्द्रप्रसाद लिङ्देनलगायतले आकांक्षा राखेको बुझिएको छ ।

त्यस्तै माओवादी केन्द्रमा अरुण श्रेष्ठ , सीपी कडरिया , राजु आचार्यलगायतको नमा सुनिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल खरेलको नाम चर्चामा रहेको छ । तर, उनले कमल थापाले खोल्न लागेको अर्को पार्टीमा जाने मनस्थिति बनाएको पार्टी निकट स्रोतले बताएको छ ।

आउँदो निर्वाचनमा सत्तारुढ गठबन्धनले बिर्तामोड नगरपालिकाको निर्वाचनमा चुनावी तालमेल गर्ने अनुमान गरिएपनि हालसम्म त्यसबारे छलफल भएको छैन । निर्वाचनको तयारीस्वरुप राजनीतिक दलहरुले संगठन निर्माण ,सुदृढीकरण र पार्टी प्रवेश कार्यक्रमलाई तीब्रता दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्