बिर्तामोड, फागुन २० । कोरोना भाइरसको महामारीका कारण व्यवसाय संकटमा परेका महिला उद्यमीहरुलाई लक्षित गरेर झापामा दुईदिने व्यापार मेला हुने भएको छ ।

महिला दिवसको अवसर पारेर कोरोना भाइरसका कारण मारमा परेका महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा यही फागुन २३ र २४ गते दुईदिने ‘उजागर’ व्यापार मेला हुन लागेको हो । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा र आस्वी ग्रुपको आयोजनामा हुने व्यापार मेलामा महिला उद्यमीहरुद्वारा उत्पादित खाद्यवस्तु, हस्तकलाका सामग्री, कृषि उपजलगायतका सामग्रीको स्टल राखिने आयोजक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्ष निकिता खत्री प्रसाईंले बताइन् ।

‘कोरोनाका कारण व्यवसाय चौपट भएपछि महिला उद्यमीहरुमा निराशा बढेको पायौँ’ उनले भनिन्, ‘उहाँहरुको हौसलालाई टुट्न नदिन र पुनः व्यवसायमा फर्कन मद्दत पुगोस् भनेर मेला आयोजना गर्न लागिएको हो ।’ व्यापार मेलामा महिला उद्यमीहरुद्वारा सञ्चालित १५ वटा व्यावसायिक स्टल रहने अस्वी ग्रुपकी संस्थापक मनस्वी पौडेलले बताइन् । दुईदिने मेलामा व्यापारिक स्टलबाहेक दुई जना महिला उद्यमीलाई सम्मान, महिला समूहबाट संगिनी नृत्य, महिला सशक्तिकरणबारे छलफल र ख्यातिप्राप्त कलाकारबाट सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्