बिर्तामोड,फागुन २१ । बडी ग्यारेजको आयोजनामा यही फागुन २७ र २८ गते हुन गइरहेको प्रदेश नं. १ स्तरीय ‘मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप’को तयारी पुरा भएको छ ।

मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीपको आयोजक समितिले पत्रकार भेटघाट गरी त्यसबारे जानकारी दिएको हो ।

फागुन २७ गते बिर्तामोडको अतिथि सदनमा प्रतियोगिताको उद्घाटन गरिने छ भने समापन सिटी सेन्टरमा हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथि पाँचवटा तौल समूहका खेलाडी सहभागी हुने कार्यक्रम संयोजक तथा बडी ग्यारेजका सञ्चालक गोल्डमेडलिष्ट राम दाहालले जानकारी दिए ।
प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुने उनले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौँ हुनेलाई ५० हजार नगद पुरस्कार र ट्रफी दिइने उनले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा महिलाहरुको पनि शारीरिक सुगठन प्रतिष्पर्धा गराइने र उक्त प्रतिष्पर्धामा पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार र ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।

उक्त प्रतियोगिताका लागि प्रदेश नं. १ का पुरुष तथा महिला खेलाडीहरुले तीन महिना अघिदेखि नै प्रशिक्षण शुरु गरिसकेको बडी ग्यारेज बिर्तामोडका सञ्चालक तथा नेपाल वडीविल्डिङ एशोसिएसनका केन्द्रीय सदस्य दीपेन चौधरीले जानकारी दिए ।
शारीरिक सुगठनमा नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन नपाउने उनले बताए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण विगत २ बर्षदेखि कुनै पनि प्रतियोगिता हुन नसकेकोले शारीरिक सुगठनमा नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रदेश नं. १ स्तरीय मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप आयोजना गरिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए । प्रदेश नं. १ कै सबैभन्दा बढी पुरस्कार राशिको प्रदेश नं. १ स्तरीय मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप राष्ट्रिय गौरवको रुपमा रहेकाले सफल बनाउन अध्यक्ष मैनालीले सबैलाई आग्रह गरेका छन् ।

प्रतियोगिताको टाइटल स्पोन्सर बिर्तामोड–२ चारपानेमा रहेको गरिमा मल्टीपर्पाेज प्रालि र सह प्रायोजन बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप आयोजक समितिका सचिव दुर्गाराज निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्