झापा , फागुन २५ । झापामा प्रतिबन्धित लागूऔषधसहित ७ जना पक्राउ परेका छन् ।

उनीहरुलाई अर्जुनधारा र भद्रपुरबाट पक्राउ गरिएको हो । मंगलवार दिउँसो २ बजे अर्जुनधारा ११ स्थित पूर्व पश्चिम सडकखण्डमा अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको प्रदेश १–०१–००२ह १०१ न. को अटो ट्याम्पोलाई शंका लागेर चेकजाँच गर्ने क्रममा अटो चालकको सिटमुनि लुकाइछिपाइ ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल , डाईजेपाम २०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेटसहित अटो,अटोचालक भद्रपुर १ बस्ने बर्ष २३ का सुमन मिश्र,अटोमा सवार सोही ठाउँका बर्ष २७ का युगल खत्री र बर्ष २४ का शंकर लिम्बुलाई पक्राउ गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

त्यस्तै मंगलवार भद्रपुर नगरपालिका वडा नं. ५ नयाँ बजार र मेची पुलबाट वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बलको बि.ओ.पी.भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषधसहित बारा निजगढ नगरपालिका वडा नं.९ बस्ने बर्ष २६ का प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका वडा नं.३ बस्ने बर्ष २२ का संजय बोहरालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट Nitrazepam tablet IP ४५० ट्याब्लेट, Tramadol१६ क्याप्सुल बरामद भएको छ ।

त्यस्तै बिर्तामोड वडा नं.९ गरामनी बस्ने धनसिंह राजवंशी र वडा नं.८ बस्ने रोशन शिवाको साथबाट डाईजेपाम ३६ एम्पुल, फेनारगन २९ एम्पुल, लुपिजेसिक ३७ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जनाएका छन् ।