झापा , चैत २७ । बहालवाला प्रदेश सांसदहरुले तल झरेर आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको आकांक्षा देखाएपछि अरु आकांक्षीहरु रुष्ट भएका छन् ।

नेकपा एमालेका तर्फबाट निर्वाचित झापाका दुईजना बहालवाला प्रदेश सांसदहरुले मेचीनगर र बिर्तामोडको मेयर पदका लागि आकांक्षा राख्दै पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दिएका थिए । मेचीनगर नगरपालिकाको मेयर पदका लागि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी र बिर्तामोड नगरपालिकाको मेयर पदका लागि प्रदेश सांसद एकराज कार्कीले पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा मेचीनगरमा प्रदेश सांसद बुढाथोकी पहिलो भएका छन् भने बिर्तामोडमा प्रदेश सांसद कार्की दोस्रो भएका छन् ।

मेचीनगरको मेयर पदका लागि भएको आन्तरिक निर्वाचनमा मतभारका आधारमा सबैलाई उछिनेर प्रदेश सांसद बुढाथोकी पहिलो भएका हुन् । मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालीन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटी सदस्य एवम् तत्कालीन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका थिए ।

बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएकी छन् । त्यस्तै दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहेका छन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले आकांक्षा राखेर उम्मेदवारी दिएका थिए । कार्यकाल बाँकी रहँदै स्थानीय सरकारका लागि ती प्रदेश सांसदहरुले चाहना देखाएपछि अन्य आकांक्षीहरु रुष्ट भएका हुन् ।

आफूले बिर्तामोड नगरपालिकाको मेयरका लागि इच्छा राखेपछि धेरैजना रुष्ट बनेको प्रदेश सांसद कार्कीले स्वीकार गरे । पार्टीले नीति बनाएपछि आफूहरुले मेयरमा आकांक्षा व्यक्त गरेको उनले दावी गरे । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोड्नका लागि आफ्नो उम्मेदवारी भएको दावी गर्दै उनले भने ,‘आम कार्यकर्ताहरुको आकांक्षा, नगरवासीहरुको चाहना , स्वतन्त्र मतदाताहरुको माग अनुसार मैले उम्मेदवारी दिएको हुँ । ’

प्रदेश सांसद कार्कीले यसअघि नै स्थानीय तह चलाइसकेका थिए । २०३२ सालदेखि अनेरास्ववियूको प्रारम्भिक कमिटीमा रहेर राजनीति थालेका कार्की २०४३ सालमा साविक गरामनी गाउँ पञ्चायतको उपप्रधानपञ्च भएका थिए । त्यसपछि उनी बहुदल आएपछि २०४८ सालमा गरामनी गाविसको अध्यक्ष भए । त्यसपछि २०५४ सालमा जिल्ला समन्वय समितिका लागि उनी वडा सदस्य भए । गत प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका लक्ष्मण खड्कालाई करिब १० हजार मतले पराजित गरी उनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

नेकपा एमालेले प्रदेश सांसदहरुले तल झरेर स्थानीय तहको निर्वाचनमा उठ्न पाउने नीति बनाएपनि यो आवश्यकताको सिद्धान्त हो कि होइन भनेर हेर्नुपर्ने मेयरका अर्का आकांक्षी नगेन्द्रप्रसाद संग्रौलाले बताए । उनले १ नम्बर प्रदेशको जिम्मेवार सांसदहरुले राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा आउँदा प्रदेश सरकारमा पार्टीको भूमिका खस्किने धारणा राखे । त्यस्तै बिर्तामोडकै अर्का मेयरका आकांक्षीले कार्यकाल बाँकी रहँदै प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचन लड्न आउनेहरुको नैतिकतामाथि प्रश्न उठ्ने बताए ।

उता प्रदेश सांसद बुढाथोकीको राजनीतिक पृष्ठभूमि हेर्दा उनले २०३५ सालमा धुलावारी माविबाट अनेरास्ववियूको सदस्य भएर राजनीति शुरु गरेका थिए । त्यसपछि मेची क्याम्पसमा प्रारम्भिक कमिटी सदस्य भएका बुढाथोकीले लामो समय यातायात व्यवसायीको रुपमा काम गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको जिल्ला उपसचिव, पूर्व क्षेत्र व्यूरो सदस्य भएका बुढाथोकी २०४७ सालमा धुलावारी गाउँ कमिटीको उपसचिव र त्यसपछि सचिव भए । त्यसपछि तीन कार्यकाल नगर कमिटी सचिव चलाए । एक कार्यकाल पार्टीको क्षेत्रीय कमिटीको अध्यक्ष भएका उनी जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्य भए । हाल उनी प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नं १ का इन्चार्ज छन् । उनले प्रदेश सभाको निर्वाचनमा कांग्रेसका अशोक पोखरेललाई करिव ८ हजार मतले पराजित गरेका थिए ।

उनले आफ्नो व्यक्तिगत लोभ लालचले मेयरमा उम्मेदवारी नदिएको बताउँदै अनौपचारिक ढंगले पार्टीको सर्कुलर र आम कार्यकर्ताको चाहना भएको प्रतिक्रिया दिए । उनले पार्टीले नरुचाएको खण्डमा आफ्नो उम्मेदवारी नरहने स्पष्ट पारे । ‘अरु आकांक्षीहरुले रुष्ट हुनुपर्ने जरुरी छैन’ उनले भने , ‘ पहिलो नम्बरमा पर्ने मैले नपाएर चौथो, पाँचौ नम्बरकाले पनि टिकट पाउनु हुन्छ ।’ आफू अहिले विधायिकी पदमा भएकाले जनतासंग ठोक्किएर काम गर्ने इच्छा रहेको उनले सुनाए ।

उनीसंगै टिकटको प्रतिष्पर्धामा दुई नम्बरमा रहेका निलकण्ठ तिवारीले कार्यकर्ताको अभाव नहुँदा र उम्मेदवार हुँदा कार्यकाल बाँकी रहँदै राजीनामा दिएर प्रदेश सांसदहरु आउनु स्वाभाविक नभएको बताए । ‘ आफूहरु स्थापित कार्यकर्ताहरु रहँदारहँदै उहाँहरुले डिग्रेड भएर स्थानीय तहमा आउन खोज्दा धेरै पद र अवसरको आशक्ति देखिन्छ’उनले भने ,‘ तल झर्नुभन्दा माथि उक्लिएर संघमा जाँदा व्यक्तित्व पनि बढ्नेछ ।

त्यस्तै मेचीनगरका अर्का आकांक्षी डिल्लीराम घिमिरेले पनि प्रदेश सांसद बुढाथोकीले मेयरमा उठ्न खोजेपछि तीब्र आलोचना गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘ मैले आदरणीय मानिरहेका मेरा अग्रजहरुले योजनाबद्ध ढंगले प्रदेशसभाका माननीय गोपाल बुढाथोकीलाई ९ महिना अवधि हुँदाहँुदै नगर प्रमुखको उम्मेदवारी किन बनाउनु पर्ने ? के गोपाल बुढाथोकी मात्रै हो नेकपा एमालेको यो नगरमा नगर प्रमुख हुने अरु कोही छैनन् ? माननीय जस्तो सम्मानित ठाउँबाट किन तल झर्नु प¥यो?’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्