झापा , बैशाख ८ । नजिकिदै गरेको स्थानीय तह चुनावको तयारीको लागि झापाका जनप्रतिनिधिहरुले भटाभट राजीनामा दिन थालेका छन् ।

गिरी र थापा

जिल्लाका दुईजना गाउँपालिका उपाध्यक्षहरुले पदबाट राजीनामा दिइसकेका छन् । हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरी र गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापाले पदबाट राजीनामा दिएका हुन् । हल्दिबारीका उपाध्यक्ष गिरीले बिहीबार गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनलाई राजीनामा बुझाएका थिए । उनले स्थानीय निर्वाचनमा खटिनुपर्ने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनले एक सामान्य कृषकको छोरालाई जनताले मन पराइदिएर ५ वर्षको लागि गाउँपालिका उपाध्यक्षको जिम्मेवारी दिइरहँदा पालिकाको अहित हुने कुनै काम गरे जस्तो नलागेको बताउँदै सीमित स्रोत साधनका कारण सबैको अपेक्षा सम्बोधन गर्न नसकेकोमा क्षमा मागेका छन् । २०७४ को निर्वाचनमा गिरी नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यस गाउँपालिकामा एमालेको बहुमत रहेको थियो । आसन्न निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदका लागि उनी र वडा नं १ का वडाध्यक्ष त्रिलोचन सापकोटा गाउँ कमिटीबाट सिफारिस भएका छन् ।

गिरीको राजीनामा पत्र

त्यस्तै गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष थापाले बैशाख ५ गते गाउँपालिकामा राजीनामा पत्र दर्ता गरेका थिए । ‘वैशाख ३० को तयारीकै लागि मैले अलि छिट्टै राजीनामा दिएको हुँ । अध्यक्ष पदको टिकटको लागि लबिङमा छु,’ थापाले भने, ‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ । चुनावी दौडमा पनि छु । त्यसैले आचारसंहिता उल्लंघन नहोस् र चुनावी गतिविधि गर्न सजिलो होस् भनेर राजीनामा दिएको हुँ ।’ कार्यालयमा गर्नैपर्ने कामसमेत नभएको उनले बताए । चालु आर्थिक वर्षको विनियोजित कार्यक्रमहरु नियमितरुपमा सञ्चालनमै रहेकाले पदबाट राजीनामा दिँदा फरक नपर्ने बुझेर निर्णय गरेको उनको भनाइ छ । थापा ०७४ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष केहरसिंह बस्नेतले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि चुनावी गतिविधिमा सक्रिय हुनुपर्ने भएकाले समायावधि अगावै पदबाट राजीनामा दिएको बताए । उनले मेयर चन्द्रकुमार शेर्मालाई चैत २८ गते राजीनामा पत्र बुझाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्