झापा, वैशाख ९। तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको चारपटक प्रधानपञ्च भएका राजनीतिकर्मी एवं सामाजिक व्यक्तित्व दुर्गापुरका गणेशप्रसाद पोखरेलको बारेमा ‘रैतीको इतिहास’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

बिहीवार दुर्गापुरमा एक समारोहकाबीच सो कृतिको लोकार्पण भाषाविद् चूडामणि रेग्मीले गरेका हुन् ।
लोकार्पण गर्नेक्रममा अतिथिहरु कोमलप्रसाद पोखरेल, पुष्पराज पोखरेल, चन्द्रप्रसाद मैनाली, जनार्दन उप्रेती, प्रेमप्रकाश फलाहारी, एकराज गिरी, विरही अधिकारी, खगेन्द्र खुशी, नवलकिशोर दत्त, हिराप्रसाद पोखरेललगायतले साथ दिएका थिए । कृष्ण अविरलको लेखन तथा सम्पादन रहेको ‘रैतीको इतिहास’लाई अजम्बरी पव्लिकेशनले प्रकाशन गरेको हो ।
पुस्तकको बिक्रीबाट आएको रकम जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा पुस्तकालय बनाउने काममा उपयोग गरिने छोरा दिनेशकुमार पोखरेलले जानकारी दिए । ज्येष्ठ पुत्र राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रममा छोरी अप्सरा पोखरेलले पुस्तक प्रकाशन गर्नुको औचित्यमाथि प्रकाश पारेकी थिइन् । छोरा निर्माण पोखरेलले स्वागत गरेको कार्यक्रममा पुस्तकको समीक्षा साहित्यकार कोमलप्रसाद पोखरेल र सञ्चालन डा. पुण्यप्रसाद सिग्देलले गरेका थिए ।
कार्यक्रममा पुष्पराज पोखरेल, एकराज गिरी, कृष्णहरि पोखरेल, बिरही अधिकारी, खगेन्द्रा खुशीलगायतले बोलेका थिए । कार्यक्रममा दिनेशकुमार पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए । लोकार्पण कार्यक्रममै गणेशप्रसाद पोखरेलको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । कनकाई नगरपालिकामा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको प्रतिष्ठानमा परिवारको तर्फबाट दुई करोड रुपैयाँ अक्षयकोष राखिएको छ ।