झापा , जेठ २३ । मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ ।

अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रति व्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट भित्रिएका प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले राजस्व उठाउने गरेको छ । अझै बढी राजस्व उठाउन गाउँपालिकाको टोली पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व असुलउपर गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए । अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेकाले यसपटक कम राजस्व असुली हुने अनुमान गरिएको उनको भनाइ छ । ‘ विगत वर्षहरूमा कम्तीमा पाँचदेखि ६ हजार यार्सा संकलकबाट राजस्व असुली हुने गर्थ्यो भने यसपटक स्थानीय निर्वाचनले गर्दा कम मानिस यार्सा टिप्न गएको हुँदा राजस्व पनि कमि उठ्ने अनुमान गरेका छौं,’ उनले भने । मुगुम कार्मारोङ गाउँपालिका-२ मा पर्ने विभिन्न पाटन रिमार, ठूलो कोइकी , सानो कोइकी , छापाखोला , चार्कुलगायत वनमा सुरक्षाकर्मीसहित राजस्व संकलन टोली खटाइएको छ । कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व उठाउन पाएको थिएन । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि १५ जेठदेखि प्रवेश खुला गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्