झापा , जेठ २३ । अछाममा १७ वर्षीय एक किशोर मृत्यु प्रकरणको अनुसन्धान जारी छ ।

तर, स्थानीयले घटनास्थलबाट शव उठाउन दिएका छैनन् । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । १० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका-४ का १७ वर्षीय विनोदबहादुर शाही २१ गते शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेला परेका थिए । पञ्चदेवल विनायक-४, कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट एक किलोमिटर टाढा जंगलमा उनको शव फेला परेको थियो । आफन्त र स्थानीयले उनको हत्या भएको दाबी गर्दै आएका छन् । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, “दैनिक ठूलो संख्यामा स्थानीयले प्रर्दशन गरिरहेका छन् । घटनालाई राजनीतिसँग जोड्न खोजिएको छ । शव घटनास्थमै छ । पोष्टमार्टम भए पनि अनुसन्धानमा सहयोग हुन्थ्यो । तर, सहज रुपमा काम गर्न पाएका छैनौं ।” प्रहरीका अनुसार स्थानीय तह निर्वाचनका बेला कालिकास्थनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । मृत भेटिएका किशोर एमाले समर्थक रहेको बताइएको छ । उनका आफन्तले घटनामा कांग्रेस नेता-कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्