झापा , जेठ २३ । मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार साँझ एक युवकको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका-१ हटिया डाँडास्थित आमबारी-कुटुमगञ्ज सडकखण्डमा दुर्घटना हुँदा सुनवर्षी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको हो । उनले चलाएको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जानेक्रममा आफैँ अनियन्त्रित भएर साँझ ५ः२० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाएको छ । भारत अररिया कुसाकट्टा घर भएका कामतको रंगेली अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको साथमा आवश्यक कागजपत्र फेला परेको छैन । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्