बिर्तामोड, जेठ २३ । पूर्वको मुख्य बजार बिर्तामोडमा सार्वजनिक शौचालयको व्यवस्थापन सरकारी निकायले गर्न नसकेपछि निजी क्षेत्र अगाडि सरेको छ ।

वर्षौदेखि सार्वजनिक शौचालयविहीन बिर्तामोडमा अब निजी क्षेत्रले त्यसको सुविधा दिन लागेका हुन् । बिर्तामोडको एक सहकारी संस्था र अर्को एउटा होटलले सर्वसाधारणका लागि निःशुल्क शौचालयको व्यवस्था गरेका हुन् ।
बिर्तामोड – ४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारण नागरिकका लागि शौचालय प्रयोग गर्न दिने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । उनका अनुसार भद्रपुर रोडका लागि संस्थाको शौचालय उपयोगी हुनेछ ।
भद्रपुर बस स्टेण्ड पश्चिममा रहेको शिखर साकोसले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने अध्यक्ष राउतको भनाई छ । भद्रपुर बस स्टेण्डका यात्रु र अन्य ओहोरदोहोर गर्ने सर्वसाधारण नागरिकका लागि देख्ने गरी सूचना बोर्ड राखेर सुविधा प्रदान गरिने राउतले जानकारी दिए ।

त्यस्तै मानिसहरुको धेरै आउजाउ हुने बिर्तामोडको पश्चिम बसस्टेन्ड नजिकै रहेको सेन्टर पोइन्ट (सिपी) होटल तथा पार्टी प्यालेसले आफ्नो शौचालयलाई सार्वजनिक बनाएको सञ्चालक रितेन खरेलले बताए ।
बसबाट ओर्लिने तथा बस चढ्न पर्खेका यात्रुहरुलाई सो स्थानमा शौचालय नहुँदा समस्या पर्दै आएको थियो । यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै तथा काठमाडौँका नगरप्रमुख बालेन्द्र साहबाट प्रभावित भएर होटलले सार्वजनिक शौचालय प्रयोगमा ल्याएको खरेलले जानकारी दिए । काठमाडौंमा बालेन्द्रले सार्वजनिक शौचालयका लागि आग्रह गरेपछि यसअघि देशभरिका होन्डा सोरुमले आ–आफ्नो कार्यालयमा रहेका शौचालयलाई सार्वजनिक शौचालय बनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्