विराटनगर, असार १ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ दशमलव ३४ प्रतिशतले रहने र आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलव ४१ प्रतिशतले वृद्धि हुने लक्ष्य लिएको छ । तर ती लक्ष्य पूरा गर्ने कार्यक्रम तथा योजनामा बजेट केन्द्रित छैन ।
कृषि क्षेत्रमा २ अर्ब ५९ करोड २३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । त्यस्तै सिँचाई, ऊर्जा तथा खानेपानी क्षेत्रका लागि ६ अर्ब ६ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड बजेट विनियोजन गरिएको छ । सञ्चार तथा यातायात क्षेत्रमा ३० करोड ५० लाख, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेको मन्त्री आङ्बोले बताए ।
पर्यटन प्रवद्र्धनका लागि १ अर्ब १३ करोड ५७ लाख, वन, वातावरण तथा भू–संरक्षण क्षेत्रका लागि १ अर्ब ३० लाख, कानुन, विपद् व्यवस्थापन तथा मानवअधिकार प्रवद्र्धनका लागि ५७ करोड बजेट विनियोजन गरिएको छ ।
प्रदेशमा कार्यरत कर्मचारीलाई प्रोत्साहनका लागि एक महिना बराबरको तलब दिइने मन्त्री आङ्बोले बताए ।
प्रदेश १ सरकारले प्रदेशमा लोकमार्ग निर्माणका लागि ५ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ ।मन्त्री आङ्बोले लोकमार्गहरूको काम सक्नका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । उनले प्रदेशमा सयवटा झोलुंगे पुल निर्माणका लागि ३० करोड रूपैयाँ बजेट छुट्याइएको बताए ।
सरकारले सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी बराह क्षेत्रस्थित कोसी र कोकाह नदीमा आकर्षक झोलुंगे पुल निर्माण गर्ने भएको छ । पर्यटन प्रवद्र्धन कार्यक्रममार्फत ३ जिल्ला जोड्ने पुल निर्माणका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरिएको आङ्बोले बताए ।
इटहरी र धरानको गुरुयोजना बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले इटहरीको टेग्रा खोलालाई बूढीखोलामा मिसाउनका लागि अध्ययन गर्न पनि बजेट विजियोजन गरेको छ । सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश मातहतका अस्पतालको स्तरोन्नतिका लागि सरकारले २५ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ ।
मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सरकारको स्तरोन्नति गर्ने योजनाभित्र परेको छ । त्यसका लागि २५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको आङ्बोले बताए । सेन्टरमा आगामी वर्षदेखि सिटी स्क्यानसहितको सेवा प्रारम्भ गर्ने सरकारको योजना छ । झापाको मेची अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु गरिने भएको छ ।
झापाको कलम गाउँपालिकामा ५० बेडको आयुर्वेदिक अस्पताल निर्माण गर्ने सरकारको योजनामा छ । ‘एक वडा, एक बर्थिङ सेन्टर’का लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रूपैयाँ विनियोजन गरेको छ ।
विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुका लागि फरक–फरक व्यवस्था भए पनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको आङ्बोले बताए । प्रदेशसभामा रहेका ९० जना सांसदले एक करोडका दरले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरिएको हो । निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै प्रदेशसभा सदस्यहरुको समान भूमिका रहने मन्त्री आङ्बोले घोषणा गरेका छन् ।
यसैबीच प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा प्रतिलिटर २ रूपैयाँ अनुदान दिने भएको छ । उक्त अनुदान सोझै किसानलाई उपलब्ध गराइने छ । उत्पादनमा आधारित प्रोत्साहनका लागि १२ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि साना किसानलाई ऋण सहुलियतका लागि ९ करोड बजेट विनियोजन गरेको छ । ‘एक पालिका, एक उत्पादन’ कार्यक्रमका लागि १३ करोड रूपैयाँ विनियोजन गरिएको आङ्बोको भनाइ छ ।
१० बर्षे कृषिको दीर्घकालीन योजना बनाउने उद्धेश्य राखेको प्रदेश सरकारले उन्नत बीउका लागि १३ करोड विनियोजन गरेको छ । समग्र कृषि क्षेत्रको विकासका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरिएको जानकारी आङ्बोले दिए ।
त्यस्तै पर्यटन क्षेत्रको विकासका लागि डिजिटल वेब र मोवाइल एप निर्माण गर्ने सरकारको तयारी छ । मुन्धुम पदमार्ग यसैवर्ष सम्पन्न गर्ने र थप ४ वटा पदमार्ग निर्माण गर्ने घोषणा सरकारको छ । पर्यटकको बसाई अवधि बढाउन लामो र छोटो अवधि भ्रमण प्याकेज निर्माणमा सहयोग गरिने आङ्बोको भनाइ छ ।
त्यस्तै संघीय सरकारले उपेक्षा गरेको विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने योजना प्रदेश सरकारको छ । विमानस्थलको स्तरोन्नति गरेर विराटनगरबाट पहाडी जिल्लाहरुमा नियमित हवाई उडान र माउण्टेन फ्लाइट सञ्चालनका लागि पहल गर्ने घोषणा बजेटमार्फत सरकारले गरेको छ । खेल पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको आङ्बोले बताए ।