झापा , साउन १० । १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् ।

छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् । सुवेदी पनि कराँते प्रशिक्षक भएको बताइएको छ । विराटनगर महानगरपालिका-३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक-पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले भने, “थुनामा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।” सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कोइरालाले बताए । प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक-पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्