झापा , साउन २० । आगामी मंसिर ४ गतेका लागि घोषित आमनिर्वाचनमा झापाका करिब ६ लाख ७० हजार मतदाताले भाग लिने भएका छन् ।

स्थानीय निर्वाचनका बेला ६ लाख ४६ हजार २३४ मतदाता रहेकोमा आमनिर्वाचनका लागि मतदाताको सख्या बढेर करिब ६ लाख ७० हजार पुगेको हो । असार १ गतेदेखि शुरु भएको मतदाता नामावली संकलन कार्यमा झापामा २४ हजार ९९२ जना नयाँ मतदाता थपिएका हुन् ।

असार १ गतेदेखि शुरु भएर साउन १९ गतेसम्म चलेको मतदाता नामावली संकलन कार्यमा २४ हजार ९९२ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले बताए । उनले मतदाता संख्याको अद्यावधि हुन बाँकी रहेको जानकारी दिए । बाहिरी जिल्लाबाट आउन १४७७ र झापाबाट बाहिरी जिल्ला जान ४४२ जनाले निवेदन दिएको र निवेदन दिने म्याद भदौ १५ गतेसम्म बाँकी रहेकाले अहिले नै मतदाता संख्या यकिन गर्न नसकिने उनले बताए । त्यस्तै स्थानीय निर्वाचनसम्मको मतदाता संख्या पनि अद्यावधि गर्न बाँकी रहेको छ ।

यसैबीच निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो ।

यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा १० लाख मतदाता थपिने आयोगको आँकलन रहेको छ । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेका थिए । आयोगले असार १ देखि मतदाता नामावली संकलन कार्य सुरु गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्