बिर्तामोड, भदौ ३ । दुर्गा माध्यमिक विद्यालय गरामनीलाई करोडौंको जग्गा दान दिने उजारु राजवंशीको निधन हुँदा कात्रो किन्नेसमेत पैसा थिएन । गाउँलेले जुटाएर उनको अन्त्येष्टि त गरे, तर अब क्रिया खर्च छैन ।

दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ निवासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो हविगत भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत ६ महिनादेखि प्यारालाइसिस रोगले थलिएका थिए । श्रीमती चम्पा राजवंशीसंग भत्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए । बृद्ध भत्ताबाटै ती दुवैले गुजारा गरेका थिए ।उनीहरुका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृत्यु हुँदा कात्रो किन्ने पैसा नहुँदा रकम संकलन गरेर अन्त्येष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरु बस्ने कटेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबाट जोगाउन प्लाष्टिकले घर छोपिदियौं ।’

गरामनीबाट लखीबारीतर्फ जाने शहीद नेत्र मार्गले छोएको करोडौंको जग्गा राजवंशीले दान दिएका थिए । ससुरालीबाट दानमा पाएको ४ विगाह र मोहीयानीको ५ विगाह गरी उनी ९ विगाहको धनी थिए । त्यही बेला उनले विद्यालयलाई एक विगाह जग्गा दान दिएका हुन् । सम्पत्ति हुँदा राजवंशी परिवारलाई सबैले खोजेपनि सम्पत्ति सकिएपछि कसैले पनि वास्ता नगरेको भतिज नारायण राजवंशीले गुनासो गरे । ‘ सम्पत्ति हुँदा स्कूलले पनि बोलाउँथ्यो ’गुनासो गर्दै उनले भने ,‘ सम्पत्ति नरहँदा स्कूलले पनि बोलाउन छोडेको थियो ।’
जग्गा दान दिने जग्गादाताहरुको अभिलेख पनि राखिएको थिएन । दुर्गा माविलाई उजारु राजवंशी , देवी राजवंशी , हुसिल राजवंशीलगायतले पाँच विगाहभन्दा बढी जग्गा दान दिएका थिए । उनीहरुको अभिलेख नभएको अबस्थामा आफूले विवरण खोजेर जग्गादाताहरुलाई एकपटक सम्मान गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण पाठकले बताए । उनले जग्गादाता राजवंशी परिवारको अबस्था अत्यन्त दयनीय भएको कुरा आफूले पनि पाएको बताउँदै विद्यालयका तर्फबाट सामान्य क्रिया खर्च उपलव्ध गराउन लागेको जानकारी दिए ।
राजवंशी परिवारको दुई कठ्ठा भिटा मात्र बाँकी छ । त्यही भिटामा जगगादाता राजवंशीको कटेरो र उनको छोराको घर रहेको छ । त्यही कटेरोमा राजवंशीले आफ्नो इहलीला समाप्त गरे । पतिको सहारामा बाँच्दै आएकी बृद्धा चम्पालाई अब जिउन गाह्रो हुने भएको छ । चुहिने घरमा बस्न बाध्य उनलाई सबैको सरसहयोगमा घर बनाइदिन सके ठूलो राहत हुने प्रधानाध्यापक पाठकले बताए ।
जग्गादाता उजारुसंगै अर्का जग्गादाता हुसिल राजवंशीको परिवारको पनि विजोग उस्तै छ । केही महिनाअघि हुसिलको स्वर्गारोहण भएको थियो । त्यतिबेला पनि विद्यालयले क्रिया खर्च भनेर ११ हजार रुपैयाँ सहयोग गरेको थियो ।