दमक, भदौ ६ । अनलाइन गेममार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतहरुको किर्ते गरी दुरुपयोग गर्ने गिरोहलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।

ल्यापटप ताथ मोवाइलको प्रयोग गरी इन्टरनेटमार्फत विभिन्न गेमहरुका नाममा जुवा खेलाउने र जापान पठाउने, आयल्सका कक्षाहरु सञ्चालन गर्ने बहानामा सरकारी कागजात र दस्तखतहरु दुरुपयोग गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी दमक ८ स्थित पद्मा कन्सल्टेन्सीका सञ्चालकद्वय दमक ८ का २५ बर्षिय सतप्रकाश साह र दमक ७ का २७ बर्षिय राजु श्रेष्ठ , कमल २ स्थायी घर भएका योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक ३० बर्षिय अरुण कार्की र ब्रिटिश आर्मी तालिम केन्द्रका सञ्चालक दमक ८ का राजु लिम्बूलाई सार्वजनिक गरेको हो ।
अनाधिकृत रुपमा कन्सल्टेन्सीमा अध्ययन तथा शैक्षिक परामर्शका क्रममा बिद्यार्थीहरु आउँदा ल्याएका कागजातका आधारमा एनसेलका सीमहरु निकाल्ने, अनुमतिबिना सयौं बिद्यार्थी तथा अन्य सर्वसाधारणका नाममा कागजातहरु जुटाएर इसेवा आइडीमार्फत ८८ लाख रुपैयाँसम्म कारोबार गरेको प्रहरीको दाबी छ । प्रहरीले पद्मा कन्सल्टेन्सी र फोटो स्टुडियोबाट ठुलो संख्यामा ल्यापटप, मोवाइल र प्रयोगमा आएका तथा नआएका सीमहरु समेत बरामद गरेको छ ।

सो कन्सल्टेन्सी, ब्रिटिश तालिम केन्द्र र फोटो स्टुडियोका सञ्चालकहरुको मिलेमतोमा शिक्षा मन्त्रालयको स्टाम्प (छाप), दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाको नाममा नक्कली तथा किर्ते छापका साथै विभिन्न बिद्यालय र प्रधानाध्यापकहरुको नाममा छाप र दस्तखतहरु किर्ते गरेर जापान जान चाहने बिद्यार्थीहरु , ब्रिटिश आर्मीमा भर्ति हुन चाहने सर्वसाधारणका छोराछोरीलाई झुक्याउने, उनीहरुका नाममा सिमहरु निकालेर इसेवा आइडीहरु बनाएर अनलाइन गेम सट्टेबाजी खेल खेलाउने धन्दा चलाएको प्रहरीको भनाई छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरी नेतृत्वको टिमले गहिरो अनुसन्धानपछि सो गिरोहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए ।

पक्राउ परेको यो समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्