झापा, भदौ २५ । झापा क्षेत्र नं ३ ‘क’ बाट नेकपा माओवादी केन्द्रका नेता डिल्ली घिमिरे(हिक्मत) ले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गर्दैगर्दा उनकी पूर्व श्रीमती शान्ता राजवंशी(गौरी)ले वागी उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

वर्गीय,जातीय उत्पीडन , महिला हिंसा र भ्रष्टाचारका बिरुद्ध र झापा क्षेत्र न ३ को विकास र समृद्धिका लागि झापा क्षेत्र नं ३ ‘क’ को प्रदेशसभाको सदस्यका लागि आफू उम्मेद्वार बन्न तयार रहेको उनले सामाजिक संजालमार्फत घोषणा गरेकी हुन् ।

‘ पार्टीले टिकट दियो भने पार्टीकै तर्फबाट उठ्छु , नत्र वागी भएपनि झापा क्षेत्र नं ३ ‘क’ को प्रदेशसभाको सदस्यका लागि उम्मेद्वारी दिन्छु ’ उनले प्रतिदिन दैनिकसंगको कुराकानीमा भनिन् । बाह्रदशी गाउँपालिका फूलवारी निवासी जाला राजवंशीकी छोरी शान्ता र घिमिरेले माओवादी पार्टीमै रहँदा एक अर्कालाई मन पराएर २०६१ सालमा जनवादी विवाह गरेका थिए । त्यतिबेला शान्ता १६ वर्षकी थिइन् । तर , उनीहरुको वैवाहिक सम्बन्ध जनयुद्ध जत्तिकै दश वर्ष मात्र टिक्यो । घिमिरेले २०७१ सालमा आफ्नै जातको अर्की श्रीमती ल्याएपछि उनीहरुबीच सम्बन्ध विच्छेद भयो । ‘उहाँले आफ्नै जातको अर्की श्रीमती ल्याएपछि मैले सम्बन्ध विच्छेद गरेँ ’ छोरीसहित अलग्गिएकी शान्ताले भनिन् ‘ पैतृक सम्पत्ति थियो कि थिएन केही पनि लिइनँ , हामी आमाछोरी विदावारी भयौं ।’

हाल आमा शान्ता र उनकी छोरी साइमा बिर्तामोडमा डेरा लिएर बस्छन् । शान्ता बिर्तामोडको एउटा कपडा पसलमा काम गर्छिन् । आफ्नै परिश्रमले छोरी साइमालाई पालनपोषणसहित पठनपाठन गराउँदै आएकी छन् । साइमा कक्षा १० मा अध्ययनरत रहेकी छिन् ।

०६१ सालबाट भूमिगत राजनीतिमा लागेर अखिल क्रान्तिकारी झापाको जिल्ला सदस्य हुँदै गर्दा तत्कालीन एरिया ईञ्चार्ज घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी शान्ता अखिल नेपाल महिला संघ झापाको उपाध्यक्ष थिईन् । आदिवासीकी छोरी भएकै कारण आफूलाई अपहेलना गरेर सम्बन्ध बिच्छेद गरेका हिक्मतले अबको प्रदेश सभा निर्वाचनमा आदिवासीकै बाहुल्यता भएको ठाउँबाट चुनाव लड्ने घोषणा गरेपछि आदिवासीलाई सचेत गराउन पनि आफ्नो उम्मेदवारी रहने उनले बताएकी छिन् । शान्ता हाल माओवादी पार्टीको सदस्य रहेकी छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्