बिर्तामोड, असोज ९ । संघीय निर्वाचनका लागि झापा क्षेत्र नं २ बाट उम्मेदवार आकांक्षीको सिफारिसमा परेका नेपाली कांग्रेसका जलकुमार गुरुङले टिकट पाउने कुरामा आफू ढुक्क रहेको बताएका छन् ।

उनले आज एक अपिल जारी गरी कांग्रेसले आफूलाई टिकट दिने कुरामा आफू ढुक्क रहेको बताएका हुन् । उनले अपिलमा भनेका छन् ‘अबका केही सातामा आउने आमनिर्वाचनमा पनि यहाँहरूको भरोसा पाएँ भने झापा २ का नागरिकको जीवनमा सकारात्मक परिवर्तन गराउन सक्ने हिम्मत र कार्ययोजना मसँग रहेको छ । म झापा २ का नागरिकसँग हातेमालो गर्न व्यग्र छु ।मेरो पार्टीले सो जिम्मेवारी दिनेमा ढुक्क छु ।’

गुरुङ नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी बिर्तामोड नगरपालिकाको मेयर पदमा उठेका थिए । तर, उनी उपविजेतामा सीमित रहे । विभिन्न सामाजिक संघसस्थामा क्रियाशील गुरुङ बिर्तामोड खानेपानी संस्थाको अध्यक्ष र मेची आँखा अस्पतालको अध्यक्ष हुन् । उनी झापा ११ फुटबल क्लबका पनि अध्यक्ष हुन् ।

आफू तीन दशकदेखि अनवरत रूपमा नेपाली कांग्रेसको झन्डामुनि रहेर झापावासी नागरिकसँगको सहकार्यमा समाजसेवालाई मुख्य विषय बनाएर अगाडि बढिरहेको कुरा विदितै रहेको बताउँदै उनले आँखा देखाउने र तिर्खा मेटाउने अर्थात् आँखा अस्पताल र खानेपानीमा रहेर सेवा गरिरहेको उल्लेख गरेका छन् । उनले सदैव सेवामा लागिरहने प्रण समेत गरेका छन् । संघीय निर्वाचनका लागि झापा क्षेत्र नं २ बाट पाँचजना सिफारिस भएका छन् । गुरुङको नाम चौथो नम्बरमा छ । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, पूर्व राज्यमन्त्री एवं केन्द्रीय सदस्य सरिता प्रसाई , संविधानसभा सदस्य तथा पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी , महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरी र नेपाल विद्यार्थी संघका नेता नवीनराज प्रसाई पनि सिफारिस भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्