झापा , असोज १२ । निर्वाचन आयोगले मंगलबार रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।

संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । गत भदौ १३ गते नै राजपत्रमा प्रकाशित भैसकेको निर्वाचन आचारसंहिताको पालना गर्नु सबैको दायित्व भएको आयोगको भनाई छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सबैले पालना गर्नुपर्ने आयोगले जनाएको छ । आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ । जसमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

तर निर्वाचनमा आफैं उम्मेदवार भएका मन्त्रीले आफु उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न पाउने भएपनि प्रचार प्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न पाउने छैनन् । त्यस्तै, बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य कार्यक्रम गर्न वा नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृत र सञ्चालन गर्न पाउने छैनन् । तर, सरुवा रोगको महामारी वा प्राकृतिक विपद सिर्जना भएमा आयोगको स्वीकृतिमा त्यस्ता काम गर्न पाइनेछ । साथै कुनै राजनीतिक पदको सिर्जना नियुक्ती भत्ता बृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने पनि आयोगले जनाएको छ । निर्वाचनको काम बाहेक निर्वाचन सम्पन्न नभएसम्म सरकारले कर्मचारीको सरुवा समेत गर्न आचारसंहिताले बन्देज गरेको छ । साथै आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि बैदेशिक भ्रमणमा जान समेत सरकार र मन्त्रीहरुलाई बन्देज लाग्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्