झापा, असोज १२ । बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा आँखाको नानी सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।

जीवित रहँदै दुवै आँखा दान गरिसकेका फिदिम नगरपालिका वडा न.१ निवासी लेखक तथा साहित्यकार रामबहादुर गुरुङ (रामप्रकाश समथिङ) को आँखा दुईजना विरामीलाई प्रत्यारोपण गरिएको हो ।
मेची आँखा अस्पताल आँखा नानी संकलन केन्द्रका प्राविधिक पुष्पप्रसाद अधिकारीको टिमले बिएण्डसी हस्पिटलमा गई मृतकको परिवारसँग स्वीकृती लिई गुरुङको दुवै आँखाको नानी निकालेर मेची आँखा अस्पतालको नानी संकलन केन्द्रमा राखेको थियो । सोही आँखाको नानी दुई भिन्न व्यक्तिलाई प्रत्यारोपण गरिएको हो । एकजनालाई भोलिपल्ट र दोस्रो जनालाई ३ दिनपछि प्रत्यारोपण गरिएको मेची आँखा अस्पतालकी आउटरिच अधिकृत कविता कार्की कडरियाले जानकारी दिइन् । मेची आँखा अस्पतालका कोर्निया विशेषज्ञ डा. इसा विष्टले संकलन गरेर ल्याएको आँखाको नानी सफलतापूर्वक प्रत्यारोपण गरेकी हुन् ।

प्रत्यारोपणअघि फुलो परेको आँखा


गत लामो समयदेखि आँखाको नानीमा फुलो (Corneal Opacity) परेर दुवै आँखाको दृष्टि गुमाएका दुई व्यक्तिले दान गरिएको आँखाको नानी प्रत्यारोपणपछि दृष्टि पुनः फर्किएकोमा खुशी व्यक्त गर्दै डाक्टर र अस्पताललाई धन्यवाद दिएका छन् २०२६ माघ २८ गते जन्मेका गुरुङको गत भदौ ३० गते बिएण्डसी हस्पिटलमा WBC कम हुनुका साथै उच्च ज्वरो आएर उपचारको क्रममा निधन भएको थियो ।

प्रत्यारोपणपछिको आँखा

गुरुङले केही वर्ष अगाडी नेपाल आँखा बैक, तिलगंगा आँखा प्रतिष्ठानमा दुवै आँखा दान गरिसकेका थिए । गुरुङको निधनपछि उनका आफन्तले मेची आँखा अस्पतालमा आँखा दान गर्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्