इलाम, असोज १३ । इलामको माई नगरपालिका ४ की ८० वर्षीया बृद्धाले लगाएको गरगहना लुटपाटमा संलग्न भएको आरोपमा झापाका ३ जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ ।

माई ४ की स्थानीय बृद्धा सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेको आरोपमा उनीहरुलाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका विभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाएसँगै प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा ३ का ३४ वर्षीय सन्तोष मगर, मेचीनगर ३ का २५ वर्षीय कुमार मगर र ३१ वर्षीय मनोराज राई रहेका छन् । पक्राउ परेका साथबाट सुनका गहना र नगद ४४ हजार ३१३ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



