भद्रपुर, कात्तिक ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएकोले झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनै पर्ने बताएका छन् ।

अध्यक्ष ओलीले देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ भन्दै एमालेले समर्थन गरेका सबै उम्मेदवार निर्वाचनमा विजयी हुने ठोकुवा गर्दै झापा ३ मा लिङ्देनले नै जित्नु पर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले भने– ‘अदालतको आदेशबाट गठन भएको गठबन्धन सरकार जनताप्रति जवाफदेही छैन । सरकार भ्रष्टाचार र कमिशनखोर, दलालहरुको चंगुलमा छ । गठबन्धनका नेता नै विदेशीहरुका लागि कम्फर्टेवल सरकार हौ भन्दै भाषण गर्दै हिडेकाले जनताले हदैसम्म दुःख पाएका छन् ।’

अध्यक्ष ओलीले गठबन्धनका कारण देश र राष्ट्रियता नै रहने कि नरहने भन्ने प्रश्न उठेको छ भन्दै नेकपा एमालेको देश बनाउने अभियानमा सहयात्रा सहकार्य गर्न सबैलाई आग्रह गरे ।
अध्यक्ष ओलीले भने– ‘नेकपा (एमाले)सहित राप्रपा र जसपाको चुनावी तालमेल जसरी पनि सरकारमा जानुपर्छ भन्ने अर्थमा होइन । यो देशको रक्षा गर्न नेपाली जनतालाई स्वाभिमानसहित बाँच्ने अवस्था सिर्जना गर्न, नेपाली जनताको आर्थिक जीवनस्तर बदल्ने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा एक भएर अघि बढ्नका लागि भएको हो ।’
उनले एमालेलगायत तीनै दलका कार्यकर्ताले इमान्दारीपूर्वक आफ्नो पक्षका उम्मेदवारलाई मतदान गरी विजयी गराउन समेत निर्देशन दिए ।
अध्यक्ष ओलीले अहिलेको सरकार आएपछि न विकास छ, न ढुकुटीमा पैसा छ । यो सरकार घरको धुरीमा गिद्ध बस्दा अलछिन लाग्छ भन्ने नेपाली उखान जस्तै देशका लागि अलछिना भएको बताए ।
झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजना गरिएको उक्त कार्यक्रममा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग देशको विकास र राष्ट्रियताको पक्षमा सहकार्य भएकाले इमान्दारीपूर्वका एमालेका उम्मेदवारलाई विजयी गराउन राप्रपाका सम्पूर्ण कार्यकतालाई निर्देशन दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्