झापा, कात्तिक २१ । विश्वका ६ हेर्नैपर्ने विमानस्थलको सूचीमा नेपालको तेन्जिङ-हिलारी विमानस्थल पनि परेको छ ।

उड्डयन क्षेत्रमा काम गर्न बेलायती संस्था आर्टेमिस एयरस्पेसको सूचीमा लुक्ला पनि समावेश भएको हो। विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ-हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ । ‘सगरमाथाको प्रवेशद्वार यो विमानस्थल सुन्दर हिमालको बीचमा छ । यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन् ’, आर्टेमिस एयरस्पेसले भनेको छ । लुक्ला विमानस्थल विश्वकै जोखिमपूणर् विमानस्थलका रूपमा विश्वभर परिचित छ । वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावनमार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थल विश्वकै जोखिमपूणर् विमानस्थलको सूचीमा पर्ने गरेको छ । स्कटल्याण्डको बार्रा विमानस्थल पहिलो स्थानमा छ भने ग्रिसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रोमा परेको छ । यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस मार्कोपोला र आयरल्याण्डको डोनेगल विमानस्थल चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । आर्टेमिस एयरस्पेसले विमानस्थलको अवस्थिति र प्राकृतिक सुन्दरताका आधारमा उक्त छवटा विमानस्थललाई ‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा समावेश गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्