झापा, कात्तिक २४ । नेपाल मजदुर किसान पार्टीले झापामा पहिलोपटक मंसिर ४ को निर्वाचनका लागि आफ्ना १२ जना उम्मेदवार खडा गरेको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले झापाका चार वटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने भएको हो । राष्ट्रिय पार्टीको मान्यता पाएसँगै नेमकिपाले झापामा पहिलो पटक उम्मेद्वार उठाउँदै निर्वाचनमा सहभागिता जनाएको हो । पार्टीले झापा क्षेत्र नम्वर २ मा प्रतिनिधिसभा सदस्यका लागि महेन्द्र खायमली, क्षेत्र नम्वर ३ मा कृष्णगोपाल छुस्याबाग, ४ मा विक्रम कासिछ्वा र क्षेत्र नम्वर ५ बाट रुद्रबहादुर दाहाल(रुपक)लाई उम्मेदवार बनाएको छ ।
त्यस्तै प्रदेशसभा सदस्यका लागि भने सो पार्टीले झापा क्षेत्र नम्वर २ मा मात्रै उम्मेदवारी दिएको छ । झापा क्षेत्र नम्वर २ को २ मा सन्तकुमार तामाङलाई उम्मेद्वार बनाएको हो । त्यस्तै खड्कबहादुर देवानलाई प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बनाएको पार्टीले प्रदेशसभा समानुपातिक उम्मेदवारको रुपमा सपना राजवंशी , पुतुल राजवंशी , नरदिप योङहाङ , विकास लिम्बू( काङ्वा) , प्रेमकुमार लिम्बू र सुशिल गौरीलाई चुनावी मैदानमा उतारेको छ । नेमकिपाले झापा क्षेत्र नम्वर १ मा भने उम्मेदवारी नदिएको जनाएको छ ।
झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै चारवटै क्षेत्रका उम्मेदवारहरुका विषयमा जानकारी गराइएको हो । किरात मोर्चासँग चुनावी तालमेल गर्दै नेमकिपा चुनावी मैदानमा उत्रिएको हो। पत्रकार सम्मेलनमा आफ्ना पार्टीले अघि सारेका प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक उकेश कवाँले नेमकिपाले प्रतिनिधिसभा सदस्यका लागि देशभर १९९ जना र प्रदेशसभातर्फ १२२ जनालाई उम्मेदवार बनाएको जानकारी दिए । उनले मंसिर ४ को निर्वाचनलाई आफ्नो पार्टीले क्रान्तिको संकेत दिने ब्यारोमिटरको रुपमा लिएको बताए ।
देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको संघर्ष अघि बढाउन, देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेन्डुपहरुलाई हराउन, भारतीय एकाधिकार पुँजी अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध संघर्ष चालु राख्न, संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्न, अमेरिकी साम्राज्यवादसँगको देशघाती एमसीसी सम्झौता, एसपीपी नामको सैनिक साझेदारी खारेज गराउन, विदेशीले नागरिकता पाउने र नेपाली उद्योगी व्यापारीलाई नाङ्ले पसलमा झार्ने नागरिकता विधेयक खारेज गराउन, माध्यमिक शिक्षा निःशुल्क, अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन, भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने ख्वप विश्वविद्यालय विधेयक पारित गराउन,स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउनलगायतका प्रतिवद्धता गरिएको कवाँले जानकारी दिए ।
किरात मोर्चाका केन्द्रीय अध्यक्ष नवीन किरातीले राष्ट्रिय हितमा काम गर्ने अरु पार्टी नदेखेकाले नेमकिपासंग चुनावी तालमेल गरेको बताउँदै झापामा आफ्नो संगठनका तर्फबाट पनि केहीलाई उम्मेदवार बनाएको जानकारी दिए । जितेन्द्र खायमलीले सहजीकरण गरेको कार्यक्रमलाई नेमकिपाका केन्द्रीय सदस्य राजकृष्ण गोराले कार्यक्रमको सञ्चालन गरेका थिए ।