झापा , मंसिर ८ । रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।

जलेर तीन जना घाइते भएका छन् । गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ । आगलागीमा गम्भीर घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएका छन् । घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा लडेर नसिमा घाइते भएकी थिइन् । घाइते सबैको ज्यान जोगाउन भाग्ने क्रममा लडेर खुट्टामा चोट लागेको हो । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ । पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।

घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । ‘ठ्याक्कै कसको घरबाट आगो सल्केको भन्ने भन्न सक्ने अवस्था छैन,’ उनले भने,‘हामी पत्ता लगाउने प्रयासमा छाँै । घटनाबारे अनुसन्धान भइरहेको छ ।’ आगलागी हुँदा इस्लामको घरमा परिवारका १६ सदस्य सुतिरहेका थिए । अचानक आगलागी भएपछि बालबालिकालाई जोगाउन नसकेको पीडितको भनाइ छ । आगलागीको घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगलागीले क्षति पुगेको छ । ग्यारेजमा मर्मतका लागि राखिएको करिब डेढ दर्जन मोटरसाइकल जलेर क्षति पुगेको छ । मोटर पार्ट्स जलेर क्षति पुगेको छ । नगरप्रमुख शम्भु साहले पीडितलाई कम्बल, बास, औषधिउपचार तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने बताएका छन् । आगलगीमा मृत्यु भएकाको शव गौर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्