झापा, मंसिर १९ । ग्रामीण क्षेत्रमा रहेर गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवा दिने स्वयंसेविकाहरूलाई हल्दिवारी गाउँपालिकाले सम्मान गरेको छ ।

१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाभित्र रहेका ३२ जना स्वयंसेविकालाई सम्मान गरिएको हो । हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, वडाध्यक्षहरू देवीबहादुर थापा, सन्तकुमार थापा,सुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष लिङ्देनले महिला स्वयंसेविकाहरूको कामको प्रशंसा गर्दै आगामी दिनमा उनीहरूले उठाएको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सदैव तयार रहेको बताए ।स्वास्थ्य शाखा प्रमुख निरौलाले हल्दिबारी गाउँपालिका वर्ष २०७८÷७९ मा सबैको मिहिनेतले हल्दिबारी गाउँपालिका पहिलो भएको भन्दै धन्यवाद दिए ।

कार्यक्रमको समापनमा उपाध्यक्ष मैनालीले कुनै न कुनै बेला धेरै मान्छे हिंसामा पर्ने गरेको र लुकाएर राख्नाले लैङ्गिक हिंसा बढेको भन्दै यसलाई हटाउन सबैले आवाज उठाउन पर्ने र आफ्नो सदैव साथ रहने वचनबद्धता जनाएकी थिइन्। सम्मानितहरूको प्रतिनिधित्व गर्दै स्वयंसेविका शारदा लिङ्देनले सँधै समाजको अग्रभागमा रहेर काम गर्ने स्वयंसेविकाहरूलाई पनि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने धारणा राखेकी थिइन्।
त्यस अवसरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसाविरुद्ध कानुनी सचेतना मूलक अभिमुखीकरण कार्यक्रम गरिएको थियो । ‘ लैङ्गिक हिंसा के हो? कसरी हिंसामा परिन्छ? को को हिंसामा पर्छन् ?’ लगायतका विषयमा अधिवक्ता कविता बास्तोलाले जानकारी दिएकी थिइन् ।
उनले हिंसाबाट महिला पुरुष दुवै प्रताडित हुने गरेकाले हिंसा कसैले कसैलाई गर्न नहुने र सहन पनि नहुने भन्दै हिंसाविरुद्ध सशक्त आवाज उठाउन सचेत गराएकी थिइन्।

अधिवक्ता बास्तोलासंगै हल्दिबारी गाउँपालिका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले पनि सो कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा हिंसाविरुद्ध आवाज उठाउन प्रतिबद्धतापत्रमा सबैले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्