झापा , पुष १ । प्रहरीले सुनसरीको धरान उपमहानगरमा ठूलो परिमाणको लागूऔषध बरामत गरेको छ साथै लागूऔषध कारोबारमा संलग्न ६ जना कारोबारीलाई पक्राउ समेत गरेको छ ।

बुधबार राति खटिएको ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले गोप्य सूचनाको आधारमा धरान-३ स्थित सदन रोड, १४ को विजयपुर र धरान -५ को देउरालीका तीन स्थानमा प्रहरीको टोली परिचालन गरी छापा मार्दा ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान-३ का ३४ वर्षीय मन्त्री उपनामका मनकुमार श्रेष्ठ, धरान-५ का २६ वर्षीय अमन राई, धरान-१४ का २१ वर्षीय रञ्जित तामाङ, १९ वर्षीय नेल्सन याख्या, २० वर्षीय शाहिल भण्डारी र १९ वर्षीय शेखर परियार रहेका छन् । प्रहरी टोलीले धरान-३ स्थित सदन रोडमा मनकुमारको कोठाबाट फेनेरगन-३२ एम्पुल, डाइजेपाम ३९ एम्पुल, लुपिजेसिक ३९ एम्पुल र एभिल ४५ एम्पुल बरामत गरिएको डीएसपी श्रेष्ठले बताए । त्यस्तै, ट्रामाडोल १ हजार ट्याब्लेट, स्पास्पेइन १ हजार ५ सय ट्याब्लेट बरामत गरिएको उनले बताए। त्यस्तै, धरान-५ देउरालीस्थित अमन राईको घरबाट लागूऔषध ५ हजार ३९ ट्याब्लेट ट्रामाडोल, २ हजार ६४० ट्याब्लेट स्पास्पेइन बरामत गरिएको डीएसपी श्रेष्ठले बताए । धरान-१४ का रञ्जित तामाङको घरबाट २४० ट्याब्लेट स्पास्पेइन र २५० ट्याब्लेट ट्रामाडोल बरामत गरिएको छ । त्यस्तै, भण्डारी, याक्खा र परिवारको साथबाट ८ ट्याब्लेट स्पास्पेइन र ८० ट्याब्लेट ट्रामाडोल बरामत गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ परेका ६ जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्