झापा, पुष १७ । उद्घाटनकै दिन बिर्ताबजारको कपडा बैंकमा कपडा दिने र लिनेको भीड लाग्यो ।

बढ्दै गएको चिसो मौसमबाट बच्न नेपाल मधेसी समाज सेवा समितिले बिर्तामोड ३ बिर्ताबजारस्थित वडा कार्यालय अगाडि आइतवारदेखि कपडा बैंक खोलेको हो । जसको बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरे । चिसोबाट कसैको पनि अकालमा ज्यान जान नहुने भन्दै उनले नहुनेलाई हुनेहरुले सहयोग गर्न आव्हान गरे । ‘हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऊ’ भन्ने नारासहित खोलिएको सो कपडा बैंकमा योगदान राष्ट्रको लागि , एमकेके ग्रुप , अनारमनी सोसियल युथ क्लब , लुगा घर , सुरुवाती कोठा नेपाल , आदर्श स्कूल अफ मेनेजमेन्ट र बीइबीबीएसको सहकार्य रहेको छ । पहिलो दिन कपडा सहयोग गर्ने र सहयोग माग्नेहरुको भीड लागेको आयोजक मधेसी समाज सेवा समितिका अध्यक्ष तथा सामाजिक अभियन्ता रामेश्वर मण्डलले बताए । उनले सो कपडा बैंक एक महिनाभरि संचालन हुने जानकारी दिए ।

अध्यक्ष मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , वडा सदस्य हरि बाँसकोटा, संस्थाका सल्लाहकार दिलिप सिंह, नेकपा एमालेका जिल्ला सदस्य अफरोज खान , नेपाली कांग्रेसका वडा सभापति प्रेम उप्रेतीलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा सहभागी सबैले ढाका टोपी लगाएर एक अर्कालाई शुभकामना आदान प्रदान गरी टोपी दिवस मनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्