झापा , पुष २५ । गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको छ ।

सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागि प्रहरीमा वर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ । ‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् । युनिट इन्चार्जहरूले उनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप-प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरण सङ्कलन गर्न आदेश गरेका हुन् । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् । इन्टेलिजेन्स ब्युरो अन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागि उनीहरूलाई परिचालन गर्ने गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले बताए ।

‘मापदण्ड बनाएर परिचालन गरिएको छ’ एसएसपी थापाले भने-‘उनीहरु केन्द्रीय रूपमा खटिन्छन्, टिओआर पनि निर्धारण गरिएको छ ।’ नेपाल प्रहरीमा चाहिँ जिल्ला र युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका छन् । जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’हरुले काम गर्ने गरेको आरोप छ । सुरक्षा सङ्गठनहरूले परिचालन गरेका सादा पोसाकमा खटिने सुरक्षाकर्मीलाई व्यवस्थित गर्नका लागि विवरण मागिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । उनले भने-‘सादा पोसाकमा खटिएका सुरक्षाकर्मीलाई कार्यविधि बनाएर व्यवस्थित गर्दै छौं, आवश्यकता भन्दा धेरै परिचालन गरेको पाइए फिर्ता गर्छौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्