दाहाल नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संसद् बैठक बिहान ११ बजे बस्दैछ । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । हिजो बेलुका भएको भेटमा कांग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभापति देउवाले विश्वासको मत दिने तयारी गरेपछि कांग्रेसभित्र विवाद देखिएको छ ।

विश्वासको मत दिने कि नदिने भन्नेमा छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाएका छन् । बिहान ९ बजे बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । देउवाले प्रधानमन्त्री दिन नमान्दा कांग्रेस नेतृत्वको गठबन्धन छोडेर दाहालले एमालेसँग सहकार्य गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्